

काठमाडौं । नेपालले सन् २०२८ को आईसीसी टी–२० विश्वकप का लागि सिधै ग्लोबल छनोट खेल्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नयाँ छनोट प्रणालीअनुसार नेपालले यसपटक एसिया क्षेत्रीय छनोट खेल्नुपर्ने छैन।
आईसीसीका अनुसार सन् २०२६ को टी–२० विश्वकप खेलेका तर स्वतः विश्वकपमा स्थान बनाउन नसकेका टोलीहरू सिधै ग्लोबल छनोटमा सहभागी हुनेछन्। नेपाल पनि यही समूहमा परेकाले उसले क्षेत्रीय छनोटको चरण पार गर्नुपर्ने छैन।
नेपालले टी–२० विश्वकप २०२६ मा समूह चरणबाटै यात्रा टुंग्याएको थियो। यद्यपि, विश्वकपमा स्वतः छनोट हुन नसके पनि ग्लोबल छनोटमा प्रत्यक्ष स्थान सुरक्षित गरेको हो।
ग्लोबल छनोटमा नेपालसहित विश्वकप खेलिसकेका टोलीहरूका अतिरिक्त क्षेत्रीय छनोटबाट छनोट हुने आठ टोली पनि सहभागी हुनेछन्। तीमध्ये अफ्रिका, एसिया र युरोपबाट दुई–दुई टोली, तथा अमेरिका र पूर्वी एसिया–प्रशान्त (ईएपी) क्षेत्रबाट एक–एक टोली ग्लोबल छनोटमा पुग्नेछन्।
ग्लोबल छनोटपछि प्रत्येक क्षेत्रबाट उत्कृष्ट एक–एक टोली तथा समग्र प्रदर्शनका आधारमा थप तीन उत्कृष्ट टोली गरी कुल सात टोलीले टी–२० विश्वकप २०२८ मा स्थान बनाउनेछन्। यसका लागि आईसीसीले न्यूनतम प्रदर्शनको मापदण्डसमेत लागू गर्ने जनाएको छ।