

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय रानीपोखरीले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। प्रहरीका अनुसार कार्यालयका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा समिति गठन गरिएको हो। समितिमा काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारीहरू सदस्य रहेका छन्।
बिहीबार काठमाडौंको त्रिपुरेश्वर क्षेत्रमा नगर प्रहरीसँग विवाद भएपछि गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको शुक्रबार बिहान वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। घटनापछि यसको सत्यतथ्य छानबिनको माग गर्दै सडकदेखि संसद्सम्म विरोध भइरहेको छ।