


समाज, धर्म-संस्कृति वा राजनीतिक व्यवस्था कुनै पनि परिवर्तनभन्दा माथि हुँदैनन् । जुन दिन कुनै व्यवस्था वा परम्परामाथि प्रश्न उठाउनै नहुने अवस्था सिर्जना हुन्छ, त्यसै दिनदेखि त्यसको पतन सुरु हुन्छ । इतिहासले प्रमाणित गरेको छ कि समयअनुकूल आत्मसमीक्षा गर्न नसक्ने समाज र संस्थाहरू अन्ततः कमजोर बन्छन् । इतिहासकै गर्तमा बिलाएर जान्छन् ।
आज धार्मिक सुधारका पक्षधर बेदीका केसीले धर्मका नाममा समाजमा मौलाउँदै गएका अन्धविश्वास, पाखण्ड र शोषणमाथि निर्भीक रूपमा प्रश्न उठाएकी छन् । उनको उद्देश्य धर्मको विरोध गर्नु होइन, धर्मको आवरणमा भइरहेका विकृतिहरूको अन्त्य गर्नु हो । धर्मलाई शुद्ध, वैज्ञानिक चेतनासँग मेल खाने र मानवीय मूल्यमा आधारित बनाउनुपर्ने उनको आग्रह देखिन्छ ।
धर्मको नाममा आज अनेक प्रकारका अन्धविश्वास समाजमा फैलिएका छन् । धामी-झाँक्री, माता-देवी, देवीको अवतार, चमत्कार, अदृश्य शक्तिको नाममा डर देखाउने, रोग निको पार्ने दाबी गर्ने, भाग्य बदलिदिने आश्वासन बाँड्ने तथा विभिन्न कर्मकाण्डका माध्यमबाट सर्वसाधारणको आर्थिक र मानसिक शोषण गर्ने प्रवृत्ति दिनप्रतिदिन बढ्दो छ । श्रद्धा र विश्वासलाई व्यापारमा रूपान्तरण गर्ने यस्तो अभ्यासले धर्मप्रतिको विश्वासलाई नै कमजोर बनाइरहेको छ ।
यसको अर्थ धामी-झाँक्री वा माता-देवी भन्ने परम्परा वा आध्यात्मिक अभ्यासलाई पूर्ण रूपमा अस्वीकार गर्नु होइन । नेपालको लोकसंस्कृति र परम्परामा यस्ता साधकहरूको आफ्नै ऐतिहासिक र सांस्कृतिक स्थान छ । समाजमा आज पनि निष्ठापूर्वक साधना गर्ने, मानव सेवामा समर्पित र लोभ-लालचबाट टाढा रहेका सच्चा धामी-झाँक्री तथा माता-देवीहरू छन्, जसलाई सम्मान गरिनुपर्छ । तर तिनै नाम र पहिचान प्रयोग गरेर ढोंग, ठगी, अन्धविश्वास र आर्थिक दोहन गर्ने व्यक्तिहरूको पर्दाफास गर्नु समाजको दायित्व हो । केही व्यक्तिको पाखण्डका कारण सम्पूर्ण परम्परामाथि प्रश्न उठ्नु पनि उचित हुँदैन ।
यस्तै, धर्मका नाममा जातीय विभेदलाई वैधता दिने सोच, कर्मकाण्डलाई अनिवार्य बनाउने प्रवृत्ति, महँगा पूजाआजा र अनुष्ठानमार्फत मानिसको आर्थिक शोषण गर्ने अभ्यास तथा विभिन्न शक्तिपीठ र धार्मिक स्थलहरूमा श्रद्धालाई व्यापारमा परिणत गर्ने प्रवृत्तिबारे पनि अब खुला बहस आवश्यक छ । धर्मले मानिसलाई स्वतन्त्र सोच, करुणा, सत्य र समानताको मार्गमा डोर्याउनुपर्छ, डर, भ्रम र विभेदको माध्यम बन्नु हुँदैन।
बेदीकाले उठाएको प्रश्न यही हो-धर्मलाई कसरी अझ शुद्ध, विवेकपूर्ण र मानवीय बनाउने ? धर्मको नाममा हुने पाखण्डलाई मौन रूपमा स्वीकार गर्नु धार्मिकता होइन । बरु धर्मको मूल मर्मलाई जोगाउन विकृतिको विरोध गर्नु नै साँचो धार्मिक दायित्व हो ।
समाजमा सुधार सधैँ प्रश्नबाट सुरु हुन्छ । कुनै समय सतीप्रथा, छुवाछुत, देबकी प्रथा वा अन्य सामाजिक विकृतिमाथि पनि प्रश्न उठेका थिए । प्रारम्भमा ती प्रश्नहरू विवादास्पद लागे, तर अन्ततः तिनले समाजलाई सही दिशामा डोर्याए । आज धार्मिक पाखण्डविरुद्ध उठेका आवाजलाई पनि त्यही दृष्टिकोणले हेर्न आवश्यक छ ।
धर्मको संरक्षण कर्मकाण्डको अन्धअनुसरणबाट होइन, सत्य, नैतिकता, करुणा र विवेकको अभ्यासबाट हुन्छ । त्यसैले सच्चा धार्मिक आस्थाको सम्मान गर्दै धर्मका नाममा हुने अन्धविश्वास, ढोंग, ठगी र शोषणको विरोध गर्नु आजको आवश्यकता हो । यदि हामीले सच्चा आध्यात्मिक परम्पराको सम्मान गर्दै पाखण्डविरुद्ध बोल्न सक्यौं भने धर्म अझ विश्वासिलो, समाज अझ न्यायपूर्ण र भविष्यका पुस्ता अझ विवेकशील बन्नेछन् । यही नै धार्मिक सुधारको वास्तविक मार्ग हो र यही नै देबकीले उठाएको आवाज माथि थप एक आवाज हो ।