कांग्रेस महाधिवेशन निष्पक्ष बनाउन सबै पक्ष समेट्ने संरचना आवश्यक : महत

कांग्रेस महाधिवेशन निष्पक्ष बनाउन सबै पक्ष समेट्ने संरचना आवश्यक : महत

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको आगामी महाधिवेशन निष्पक्ष रूपमा सम्पन्न गर्न सबै पक्षलाई समेट्ने संरचना आवश्यक रहेको बताएका छन्।नुवाकोट क्षेत्र नम्बर १ को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महतले पार्टीमा एकलौटी निर्णय हुने आशंका अन्त्य गर्न निष्पक्ष संरचना निर्माण गर्नुपर्ने बताए।

सभापतिले निर्वाचन समिति, अनुशासन समिति, क्रियाशील सदस्यता टुंग्याउने समिति तथा विधान समितिलगायत संरचनामा सबै पक्षको सन्तुलित प्रतिनिधित्व गराउने विगतको अभ्यासले आशंका कम गर्ने उनको भनाइ छ।

‘हामीलाई अहिले त्यो पनि चाहिएन, एउटा निष्पक्ष संरचना मात्र चाहिएको हो, जसले निष्पक्ष अधिवेशन गराओस्,’ उनले भने।

निर्वाचनसम्बन्धी निर्णयमा सम्बन्धित पक्षलाई सुनुवाइको अवसर सुनिश्चित हुनुपर्ने महतले बताए। एक पक्षले नयाँ सूची पठाएर त्यसकै आधारमा निर्वाचन परिणाम घोषणा गर्ने अवस्था आएमा त्यसविरुद्ध सुनुवाइ गर्ने ठाउँसमेत नहुने उनको तर्क थियो।

महतले कांग्रेसलाई लोकतान्त्रिक पार्टीका रूपमा अघि बढाउँदै आएको भन्दै आफूहरूले पार्टी विभाजन गर्न खोजेको भन्ने प्रचारमा सत्यता नरहेको दाबी गरे। आफूहरूविरुद्ध सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट नियोजित रूपमा पार्टी विभाजन गर्न खोजेको प्रचार भइरहेको उनको भनाइ थियो।

उनले अदालतको निर्णय चित्त नबुझे पनि स्वीकार गर्नुपर्ने बताए। पुनरावलोकनको बाटोमा आफूहरू गए पनि प्रधानन्यायाधीशकै अध्यक्षताको तीन सदस्यीय इजलासले पुनरावलोकनसम्बन्धी निर्णय गरेको उनले उल्लेख गरे।

निर्वाचन आयोगले सम्बन्धित पक्षलाई लिखित रूपमा बोलाएर सुनुवाइ गर्नुपर्ने भए पनि एकपक्षीय कुरा सुनेर निर्णय गरेको महतले आरोप लगाए।

उनका अनुसार पार्टीभित्रको विवाद समाधानका लागि निर्वाचन कमिटी वा संयन्त्र बनाउने तथा दुईवटा कमिटीको समायोजन गर्नेलगायत विषयमा सहमतिको प्रयास भए पनि त्यसले मूर्त रूप लिन सकेन। व्यक्तिगत रूपमा संवाद भए पनि समग्र समस्या समाधान नभएपछि सामूहिक रूपमा अघि बढ्नुपरेको उनले बताए।

महतले साउन २९, ३० र ३१ गते हुने भेलालाई पार्टीको वैचारिक तथा सांगठनिक विषयमा छलफल गर्ने अवसरका रूपमा लिनुपर्ने बताए। भेलामा पार्टीको विचार, सिद्धान्त, राष्ट्रियता, प्रजातन्त्र र समाजवादमा आएको विचलन, मुलुकको आर्थिक अवस्था, सरकारका काम, संगठन सञ्चालन, विधान तथा विधान संशोधनलगायत विषयमा छलफल हुने उनले जानकारी दिए।

पछिल्लो अदालतको प्रक्रियाले तत्काल पार्टी विभाजन हुने सम्भावना टरेको उनको दाबी छ। अदालतले कांग्रेसको नेतृत्वसम्बन्धी विषयमा अन्तिम निर्णय गर्ने भएकाले तत्काल अर्को बाटोमा जाने सम्भावना रोकिएको उनले बताए।

‘अब अदालतले कांग्रेसको नेतृत्व को हुने भन्नेबारे अन्तिम निर्णय गर्ने भएको हुनाले अर्को बाटो जाने कुरा अहिले रोकिएको छ। यसले न्याय पाउने बाटो पनि खुला गरेको छ,’ महतले भने।

अदालतको निर्णयबाट १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्व पुनर्बहाली भए पनि वा विशेष महाधिवेशनबाट आएको नेतृत्व कायम रहे पनि सबैलाई समेटेर आगामी महाधिवेशन गर्ने सम्भावना खुला रहेको उनले बताए।

महतले अदालतको अन्तिम निर्णयअघि नै पार्टीभित्र सहमति कायम गर्ने अवसर रहेको भन्दै देशभरका कांग्रेस कार्यकर्तालाई साउन २९ गतेदेखि हुने भेलामा सहभागी हुन आग्रह गरे।

उनले १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेपाल फर्किन लागेको भन्दै कार्यकर्तालाई स्वागतका लागि उपस्थित हुन पनि आग्रह गरे। देउवा साउन २६ गते राति ९ः४५ बजे नेपाल आउने तय भए पनि सबैलाई सहज हुने गरी दिउँसो आउने समय मिलाउने प्रयास भइरहेको उनले जानकारी दिए।