

काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभा बैठकमा सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै तानाशाही शैली अपनाउन खोजिएको हो कि भन्ने प्रश्न उठाएकी छन्। प्रतिनिधिसभामा बोल्दै उनले बागमती किनारबाट विस्थापित गरिएका सुकुम्बासीलाई होल्डिङ सेन्टरमा राखिएको, पानी र खानासमेत रोकिएको भन्दै सरकारको आलोचना गरिन्।
उनले भनिन्, “सरकारले उबेलाको जर्मनीका तानाशाही शासकको शैली सम्झाउने कुनै च्याम्बर त निर्माण गर्दै छैन?”
कांग्रेसकी कान्छी सांसद गुरुङले सुकुम्बासीको पीडाले सिंगो समाजलाई झस्काएको उल्लेख गर्दै सरकारको मन गरिबप्रति संवेदनशील नभएको टिप्पणी गरिन्।
उनले सरकारसँग प्रश्न गर्दै भनिन्, “के राज्यको दायित्व आफ्नै नागरिकलाई सडकमा बेवारिसे बनाउनु हो?”
सरकारले सुकुम्बासी परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँ र मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि ३८८ परिवारमध्ये धेरैले रकम नपाएको उनले दाबी गरिन्। मुगुका गणेश नेपालीको आत्मदाह घटनाको उल्लेख गर्दै उनले इलामका प्रेम आचार्यको आत्मदाहपछि तत्कालीन सरकारको आलोचना गरेका वर्तमान प्रधानमन्त्री वालेन्द्र शाहका अभिव्यक्तिसमेत सम्झिन आग्रह गरिन्। सांसद गुरुङले अन्त्यमा सरकार फेरिए पनि नागरिकको जीवनमा अपेक्षित परिवर्तन आउन नसकेको टिप्पणी गरिन्।