राष्ट्रिय सभाबाट आज ‘फास्ट ट्र्याक’मा प्रतिस्थापन विधेयक पारित हुँदै

राष्ट्रिय सभाबाट आज ‘फास्ट ट्र्याक’मा प्रतिस्थापन विधेयक पारित हुँदै

काठमाडौं । सरकारले ल्याएका चार अध्यादेशलाई कानुनी मान्यता दिन राष्ट्रिय सभाले आज तीव्र गतिमा प्रक्रिया अघि बढाउने भएको छ। संसद्को संवैधानिक समयसीमा सकिन केही दिन मात्रै बाँकी रहँदा अध्यादेश प्रतिस्थापन विधेयकहरू ‘फास्ट ट्र्याक’मार्फत पारित गर्ने तयारी गरिएको हो।

राष्ट्रिय सभाको बैठक आज दिउँसो १२:१५ बजे बस्ने कार्यसूची छ। बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले चारवटा अध्यादेश प्रतिस्थापन विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गर्नेछन्।

आज प्रस्तुत हुने विधेयकमध्ये सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक–२०८३, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक–२०८३, सहकारी (पहिलो संशोधन) विधेयक–२०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक–२०८३ रहेका छन्।

यी चारवटै विधेयक असार २३ गते राष्ट्रिय सभाबाट दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएका थिए। समितिले बुधबार एकै दिन विस्तृत छलफल सम्पन्न गरी प्रतिवेदन तयार गरेको हो, जुन आजको बैठकमा पेश गरिनेछ।

सरकारले गत वैशाख १४ गते संसद् अधिवेशन नरहेका बेला आठवटा अध्यादेश जारी गर्न सिफारिस गरेको थियो। त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका थिए, जसलाई वैशाख २८ गते संसद्मा प्रस्तुत गरिएको थियो।

संवैधानिक व्यवस्थाअनुसार संसद्मा पेश भएका अध्यादेश ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने हुन्छ। यही समयसीमा असार २६ गते समाप्त हुने भएकाले सरकारले अहिले चारवटा अध्यादेशलाई मात्रै प्रतिस्थापन विधेयकमार्फत अघि बढाएको हो।

यसअघि दुवै सदनले अध्यादेश स्वीकृत गरेपछि प्रतिनिधिसभाले सम्बन्धित प्रतिस्थापन विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो। राष्ट्रिय सभाले पनि विधेयकमाथि छलफल गरी संशोधन प्रस्तावहरू समितिमा पठाएको थियो।

आज राष्ट्रिय सभाबाट विधेयक पारित भए पुनः प्रतिनिधिसभामा पठाइनेछ। त्यसपछि सभामुखमार्फत राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइनेछ। राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ती विधेयक ऐनका रूपमा कार्यान्वयनमा आउनेछन्।