अस्ट्रेलियाको विजयी सुरुआत, टर्कीमाथि २-० को सहज जित

अस्ट्रेलियाको विजयी सुरुआत, टर्कीमाथि २-० को सहज जित

इरानकुन्डा र मेटकाल्फको गोलमा विश्वकप २०२६ को पहिलो खेल जित्दै तीन अंक बटुल्यो अस्ट्रेलियाले

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को पहिलो खेलमा अस्ट्रेलियाले टर्कीलाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ। क्यानडाको भ्यानकुभरमा सम्पन्न खेलमा अस्ट्रेलियाले सुरुदेखि नै अनुशासित र आक्रामक खेल प्रदर्शन गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो।

अस्ट्रेलियाका युवा फरवार्ड नेस्टोरी इरानकुन्डाले २७औँ मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तीव्र प्रतिआक्रमणमा प्राप्त अवसरलाई उनले शानदार फिनिसिङमार्फत सदुपयोग गरेका थिए।

पहिलो हाफ १–० ले आफ्नो पक्षमा पारेको अस्ट्रेलियाले दोस्रो हाफमा पनि खेलमाथि नियन्त्रण कायम राख्यो। टर्कीले केही अवसर सिर्जना गरे पनि गोल गर्न भने सफल हुन सकेन।

खेलको ७५औँ मिनेटमा कोनर मेटकाल्फले डी-बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएपछि अस्ट्रेलियाको अग्रता दोब्बर भयो। उनको सटिक प्रहार टर्कीका गोलरक्षकका लागि रोक्न कठिन बनेको थियो।

यो जितसँगै अस्ट्रेलियाले समूह ‘डी’ मा तीन अंक जोडेको छ। समान तीन अंक भए पनि गोलअन्तरका आधारमा अमेरिका शीर्ष स्थानमा रहेको छ। अमेरिकाले आफ्नो पहिलो खेलमा पाराग्वेलाई ४–१ ले पराजित गरेको थियो।

पहिलो चरणको खेलपछि समूह ‘डी’ मा अमेरिका र अस्ट्रेलिया समान तीन–तीन अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन् भने टर्की र पाराग्वे अंकविहीन छन्। अब अस्ट्रेलियाले आफ्नो दोस्रो खेलमा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। टर्कीले भने पाराग्वेविरुद्ध अंक बटुल्ने लक्ष्यसहित मैदान उत्रिनेछ।