युवा स्वरोजगारदेखि ज्येष्ठ नागरिकलाई पोषण भत्तासम्म : काठमाडौं महानगरका नयाँ कार्यक्रम सार्वजनिक

युवा स्वरोजगारदेखि ज्येष्ठ नागरिकलाई पोषण भत्तासम्म : काठमाडौं महानगरका नयाँ कार्यक्रम सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि युवा केन्द्रित स्वरोजगार, उद्यमशीलता विकास तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।

नगरसभाको १९औँ अधिवेशनको पहिलो बैठकमा कार्यवाहक मेयर सुनिता डंगोलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा जेन–जेड र जेन–अल्फा पुस्तालाई लक्षित विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। युवालाई सुशासनका संवाहकका रूपमा स्थापित गर्दै उनीहरूको सुझाव र आवश्यकतालाई नीतिनिर्माण तथा कार्यान्वयनसँग जोडिने जनाइएको छ।

महानगरले महिला, बालबालिका, ज्येष्ठ नागरिक, आदिवासी जनजाति, दलित, अपाङ्गता भएका व्यक्ति, एकल महिला, शहीद परिवार तथा अन्य पछाडि परेका समुदायको सशक्तीकरणका लागि लक्षित कार्यक्रम सञ्चालन गर्ने भएको छ।

नीति तथा कार्यक्रममा ‘एक वडा, एक नमूना कार्यक्रम’लाई थप प्रभावकारी र दिगो बनाउँदै संस्थागत गर्ने उल्लेख गरिएको छ। साथै, ‘ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर’ अभियानमार्फत घरमै निःशुल्क स्वास्थ्य तथा परामर्श सेवा उपलब्ध गराइनेछ।

महानगरले ७५ वर्ष उमेर पूरा गरेका वरिष्ठ नागरिक तथा पूर्ण अशक्त अपाङ्गता भएका महानगरवासीलाई पोषण भत्ता प्रदान गर्ने योजना पनि अघि सारेको छ।

‘मानवीयताको शहर’ अवधारणालाई कार्यान्वयन गर्न आधुनिक तथा परम्परागत ज्ञान, सीप र कलाको प्रमाणीकरण गरी प्रमाणपत्र वितरण गर्ने व्यवस्था गरिने भएको छ। यसका साथै विद्यालय, टोल, पार्क तथा समुदायमा चरा–चुरुङ्गीमैत्री वातावरण निर्माण गर्दै पानी पात्र स्थापना गर्ने कार्यक्रम पनि सञ्चालन गरिनेछ।

महानगरले आगामी वर्ष युवामैत्री, समावेशी र सामाजिक सुरक्षामुखी कार्यक्रममार्फत नागरिकको जीवनस्तर उकास्ने लक्ष्य लिएको जनाएको छ।