नेपालका उद्योगमा १७ खर्ब कर्जा तर क्षमता उपयोग केवल ४२ प्रतिशत, राष्ट्र बैंकको अध्ययनमा चिन्ताजनक अवस्था

नेपालका उद्योगमा १७ खर्ब कर्जा तर क्षमता उपयोग केवल ४२ प्रतिशत, राष्ट्र बैंकको अध्ययनमा चिन्ताजनक अवस्था

काठमाडौँ । नेपालका औद्योगिक क्षेत्रमा खर्बौँ रुपैयाँ कर्जा प्रवाह भए पनि उद्योगहरूको औसत क्षमता उपयोग अत्यन्त कमजोर देखिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो अध्ययनले उद्योग क्षेत्र अपेक्षित रूपमा चलायमान हुन नसकेको देखाएको हो।

अध्ययन अनुसार बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८१ पुस मसान्तको तुलनामा २०८२ पुस मसान्तमा ७.९९ प्रतिशतले वृद्धि भई १७ खर्ब ७८ अर्ब ३० करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो कर्जा १७.६६ प्रतिशतले बढेको थियो।

कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ३०.८२ प्रतिशत रहेको छ। उद्योगगत रूपमा हेर्दा खानी उद्योगमा ०.६७ प्रतिशत, कृषि तथा खाद्यसम्बन्धी उद्योगमा २०.६४ प्रतिशत, गैर–खाद्य उत्पादन उद्योगमा ३५.६७ प्रतिशत, निर्माण उद्योगमा १२.२६ प्रतिशत, विद्युत्, ग्यास तथा पानीसम्बन्धी उद्योगमा २६.६२ प्रतिशत र धातु तथा इलेक्ट्रोनिक्स उद्योगमा ४.१४ प्रतिशत कर्जा प्रवाह भएको देखिन्छ।

तर, उद्योगहरूको औसत क्षमता उपयोग भने ४२.११ प्रतिशतमा सीमित रहेको छ, जुन अघिल्लो वर्षको ४२.९४ प्रतिशतभन्दा पनि केही कम हो।

राष्ट्र बैंकले अध्ययनमा समेटेका १९५ उद्योगमध्ये गार्मेन्ट उद्योग ९५.७४ प्रतिशत र अन्य लत्ता कपडा उद्योग ९० प्रतिशत क्षमतामा सञ्चालन भइरहेका छन्। त्यस्तै जलविद्युत् उत्पादन उद्योग ८२.७४ प्रतिशत, टायर तथा ट्युब उद्योग ७६.२० प्रतिशत र चाउचाउ उत्पादन उद्योग ७०.०६ प्रतिशत क्षमतामा सञ्चालन भएका छन्।

अध्ययनले केही उद्योगमा उत्पादन क्षमता बढेको देखाएको छ भने जी.आई. पाइप, इँटा, चुरोट, चिया, दूध, कागज, केबल, फलामजन्य उत्पादन लगायतका उद्योगमा क्षमता उपयोग घटेको छ।

प्रदेशगत रूपमा लुम्बिनी प्रदेश सबैभन्दा उच्च ५०.४४ प्रतिशत क्षमता उपयोगसहित अगाडि छ भने सुदूरपश्चिम प्रदेश सबैभन्दा कमजोर ३०.८२ प्रतिशतमा सीमित छ। समग्रमा मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा केही सुधार देखिए पनि कोशी, गण्डकी र सुदूरपश्चिममा गिरावट आएको अध्ययनले देखाएको छ।