

काठमाडौं । फिफा विश्वकप फुटबल–२०२६ को उद्घाटन खेलमा सह-आयोजक मेक्सिकोले विजयी सुरुआत गरेको छ। मेक्सिको सिटीस्थित एस्टाडियो अज्टेकामा गएराति सम्पन्न खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो।
मेक्सिकोको जितमा जुलियन क्विनोनेस र राउल जिमेनेजले एक–एक गोल गरे। खेलको नवौँ मिनेटमा एरिक लिराको पासमा क्विनोनेसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।
दोस्रो हाफको सुरुमै दक्षिण अफ्रिका संकटमा पर्यो। खेलको ४९औँ मिनेटमा सेफेलो सिथोले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित बन्यो।
संख्यात्मक रूपमा कमजोर बनेको दक्षिण अफ्रिकाविरुद्ध मेक्सिकोले दबाब कायम राख्यो। त्यसैक्रममा ६७औँ मिनेटमा राउल जिमेनेजले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
दक्षिण अफ्रिकाको अवस्था झन् कठिन बनेको ८४औँ मिनेटमा थेम्बा ज्वानेले दोस्रो रातो कार्ड पाएपछि टोली नौ खेलाडीमा झर्यो। यद्यपि खेलको इन्जुरी समयमा मेक्सिकोका सेजर मोन्टेसले पनि रातो कार्ड पाउँदै मैदान छाडे।
उद्घाटन खेलमै तीन खेलाडीले रातो कार्ड पाएको यो खेल निकै प्रतिस्पर्धात्मक र तनावपूर्ण बनेको थियो। जितसँगै समूह ‘ए’ मा रहेको मेक्सिकोले महत्वपूर्ण तीन अंक बटुलेको छ भने दक्षिण अफ्रिकाले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ।