काठमाडौं । सह–आयोजक क्यानडाले फिफा विश्वकप–२०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा बोस्निया–हर्जगोभिनासँग १–१ गोलको बराबरी खेल्दै प्रतियोगिताको सुखद सुरुआत गरेको छ।
टोरन्टोमा सम्पन्न खेलमा घरेलु टोली क्यानडालाई हारबाट जोगाउन साइल लारिन नायक बने। उनले खेलको ७८औँ मिनेटमा गोल गर्दै टोलीलाई महत्त्वपूर्ण एक अंक दिलाए।
खेलको २१औँ मिनेटमा जोभो लुकिचले कर्नरबाट आएको बललाई हेडमार्फत गोलमा परिणत गर्दै बोस्निया–हर्जगोभिनालाई अग्रता दिलाएका थिए।
पहिलो हाफमा पछि परेको क्यानडाले दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गर्दै लगातार दबाब सिर्जना गरेको थियो। त्यसैक्रममा ७८औँ मिनेटमा साइल लारिनले उत्कृष्ट फिनिसिङमार्फत बराबरी गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए।
यो नतिजासँगै क्यानडाले विश्वकप इतिहासमा पहिलो पटक अंक हासिल गरेको छ। यसअघि सन् १९८६ र २०२२ को विश्वकपमा सहभागी हुँदा क्यानडाले खेलेका सबै खेल गुमाएको थियो। १९८६ मा तीनै खेलमा पराजित भएको क्यानडाले २०२२ मा पनि तीनै खेल हार बेहोरेको थियो।