विश्वकपमा अमेरिकाको शानदार सुरुवात, पाराग्वेमाथि ४–१ को सहज जित

विश्वकपमा अमेरिकाको शानदार सुरुवात, पाराग्वेमाथि ४–१ को सहज जित

काठमाडौं । आयोजक अमेरिकाले फिफा विश्वकप–२०२६ मा शानदार सुरुवात गरेको छ। लस एन्जलसस्थित रंगशालामा शनिबार बिहान सम्पन्न खेलमा घरेलु टोली अमेरिकाले पाराग्वेलाई ४–१ गोलअन्तरले पराजित गरेको हो।

अमेरिकाको जितमा फोलारिन बालोगुनले दुई गोल गरे भने जियोभानी रेयनाले एक गोल थपे। अमेरिकाले एक गोल आत्मघाती उपहारका रूपमा पनि पाएको थियो। पाराग्वेका लागि मौरिसियोले सान्त्वना गोल गरे।

खेलको सातौँ मिनेटमै पाराग्वेका डिफेन्डर डेमियन बोबाडिल्लाबाट आत्मघाती गोल भएपछि अमेरिका अग्रतामा पुगेको थियो। स्टन म्याकेनीको प्रहार क्लियर गर्ने प्रयासमा बोबाडिल्लाले बल आफ्नै पोस्टमा छिराएका थिए।

त्यसपछि ३१औँ मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै अमेरिकाको अग्रता दोब्बर बनाए। पहिलो हाफको इन्जुरी समयमा बालोगुनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को मजबुत अवस्थामा पुर्‍याए।

दोस्रो हाफमा पाराग्वेले खेलमा फर्किने प्रयासस्वरूप ७१औँ मिनेटमा मौरिसियोमार्फत गोल गर्‍यो। तर इन्जुरी समयको अन्तिम मिनेटमा जियोभानी रेयनाले गोल थप्दै अमेरिकाको ४–१ को प्रभावशाली जित सुनिश्चित गरे।

यस जितसँगै अमेरिका समूह ‘डी’ मा तीन अंकसहित शीर्ष स्थानमा पुगेको छ। उक्त समूहमा अमेरिका, पाराग्वे, अस्ट्रेलिया र टर्की रहेका छन्।

यसअघि सोही दिन भएको अर्को खेलमा क्यानडा र बोस्निया–हर्जगोभिनाले १–१ गोलको बराबरी खेलेका थिए।