

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले तीन महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ।
सरकारले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलको म्याद आगामी असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको उक्त कार्यदललाई काम सम्पन्न गर्न थप एक महिना समय दिइएको हो।
यस्तै, सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनसँग सम्बन्धित उच्चस्तरीय आयोग (रावल आयोग) को २०५२ सालको प्रतिवेदन कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आवश्यक निर्देशन दिने निर्णय गरिएको छ।
त्यसैगरी, लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोकका रमेशकुमार धिताललाई मनोनयन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।