मन्त्रिपरिषद् स्वीकृत बजेटमा हेरफेर भएको भन्दै संसदीय छानबिन माग

मन्त्रिपरिषद् स्वीकृत बजेटमा हेरफेर भएको भन्दै संसदीय छानबिन माग

काठमाडौं । नेकपाका नेता वर्षमान पुनले बजेटसँग सम्बन्धित विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेपछि हेरफेर गरिएको विषय गम्भीर भएको भन्दै अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग गरेका छन्।

संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसद्मा पेस भएको विधेयकका केही पृष्ठ हेरफेर गरिएको स्वीकारोक्तिले विधि, प्रक्रिया र नैतिकताको प्रश्न उठाएको बताए।

मन्त्रिपरिषद्बाट पारित भएको विधेयक जस्ताको तस्तै संसद्मा पेस हुनुपर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै उनले विगतमा पनि यस्तै विषयमा विवाद भएको उदाहरण स्मरण गराए।

उनले भने, ‘अर्थमन्त्रीले मन्त्रिपरिषद्ले स्वीकृत गरेको दस्तावेजमा एकल रूपमा हेरफेर गरेको भए नैतिक रूपमा पदमा बसिरहन मिल्दैन। प्रधानमन्त्रीले हटाउनुपर्छ वा राजीनामा दिनुपर्छ। यस विषयमा संसदीय छानबिन आवश्यक छ।’

नेता पुनले बजेट निर्माण प्रक्रियामा पारदर्शिता र विश्वसनीयता कायम गर्नुपर्ने भन्दै विगतमा बजेट चुहावट प्रकरणपछि संसदीय छानबिनमार्फत प्रणाली सुधारिएको उदाहरण पनि दिए।

उनका अनुसार वर्तमान विवादको पनि निष्पक्ष छानबिन हुनुपर्छ र गल्ती पुष्टि भए कारबाही हुनुपर्ने तथा भविष्यमा यस्ता समस्या नदोहो¥याउन प्रक्रिया सुधार गर्नुपर्ने बताए।