

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिने औपचारिक भ्रमणमा जाने भएका छन्। उनी यही जेठ ३१ गते बेइजिङ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा मन्त्री खनालले चिनियाँ समकक्षी वाङ यीसँग नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने तथा आपसी सहकार्य विस्तार गर्ने विषयमा द्विपक्षीय वार्ता गर्नेछन्। साथै उनले चीनका अन्य उच्च अधिकारीहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
नेपालमा वैदेशिक लगानी आकर्षित गर्ने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा पनि मन्त्री खनाल सहभागी हुनेछन्। सो क्रममा उनले चिनियाँ उद्यमी तथा व्यवसायीहरूसँग समेत छलफल गर्नेछन्।
मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा उनले चीनमा रहेका नेपाली समुदायसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।
उनी आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ।