

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त प्रस्तावमाथि छलफल अघि बढाइने कार्यसूची रहेको छ।
त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्नेछन्।
यस्तै युवा, श्रम तथा रोजगार मन्त्रालयको समेत कार्यभार सम्हालिरहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सम्बन्धी दुई महत्वपूर्ण दस्तावेज संसद्मा पेस गर्ने कार्यसूची छ।
उनले ‘श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नम्बर ८१)’ तथा ‘बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल (नम्बर २९)’ प्रतिनिधिसभामा पेस गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।