

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक माधवकुमार नेपालले सरकार रोजगारी सिर्जना, उद्योग संरक्षण तथा उत्पादनमुखी अर्थतन्त्र निर्माणमा गम्भीर हुनुपर्ने बताएका छन्।
शनिबार नेपाल सुनचाँदी कला व्यवसायी संघको २४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले लगानीमैत्री वातावरण निर्माण र निजी क्षेत्रको प्रवर्द्धनमा राज्यले विशेष ध्यान दिनुपर्ने बताए।
नेपालले राज्यको प्रमुख दायित्व रोजगारीका अवसर सिर्जना गर्नु र व्यवसाय फस्टाउन अनुकूल वातावरण तयार गर्नु रहेको उल्लेख गर्दै उद्योग–व्यवसायमा प्रतिकूल असर पर्ने नीति अवलम्बन गर्न नहुने बताए।
“राज्यले रोजगारी सिर्जना गर्नुपर्छ। रोजगारीका सम्भावना भएका सबै क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ। व्यवसायको विकासमा बाधा पुग्ने अवस्था आउन नदिन राज्य संवेदनशील हुन आवश्यक छ,” उनले भने।
देशभित्र पर्याप्त रोजगारीको अवसर नहुँदा युवा वैदेशिक रोजगारीतर्फ पलायन हुन बाध्य भएको उल्लेख गर्दै उनले रोजगारी प्रवर्द्धनका सम्भावित क्षेत्रहरूको पहिचान गरी प्रभावकारी योजना बनाउन सरकारलाई आग्रह गरे।
नेपालले आयातमुखी अर्थतन्त्रलाई उत्पादन र निर्यातमुखी बनाउन स्पष्ट रणनीति आवश्यक रहेको बताए। स्वदेशी उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमार्फत अर्थतन्त्रलाई सुदृढ बनाउन सकिने भए पनि सरकारले त्यसतर्फ पर्याप्त ध्यान नदिएको उनको आरोप थियो।
उनले विशेषगरी औषधि उद्योग गम्भीर संकटमा परेको उल्लेख गर्दै करिब १५० भन्दा बढी औषधि उद्योग बन्द हुने जोखिममा रहेको दाबी गरे। यस विषयमा संसद्, राजनीतिक दल र सरोकारवाला निकायले सरकारको ध्यानाकर्षण गराउनुपर्ने उनको भनाइ थियो।
सरकारले निजी क्षेत्रका समस्या सुन्ने, नियमित संवाद गर्ने तथा नीतिगत सुधारमार्फत उद्योग–व्यवसायलाई संरक्षण गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।
कृषि, जलविद्युत् र खनिज स्रोत नेपालको आर्थिक समृद्धिका प्रमुख आधार भएको उल्लेख गर्दै उनले उत्पादन, रोजगारी र आम्दानी वृद्धि भएमा उपभोग तथा व्यापार स्वतः विस्तार हुने बताए।
सिमेन्ट उद्योगलगायत विभिन्न उत्पादनमूलक क्षेत्र संकटमा रहेको उल्लेख गर्दै नेपालले प्राकृतिक स्रोत–साधनको सदुपयोग गरी खनिज, कृषि र ऊर्जामा आधारित औद्योगिक विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले सुनचाँदीलगायतका वस्तुमा हुने अवैध कारोबार नियन्त्रण गर्न र वैध व्यापार तथा स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्न पनि सरकारसँग आग्रह गरे।