‘अब मबाट हामीमा रूपान्तरण हुने बेला आएको छ’ : रवि लामिछाने

‘अब मबाट हामीमा रूपान्तरण हुने बेला आएको छ’ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले पार्टीको सर्वोपरि हितका लागि हरेक तहमा सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक रहेको बताएका छन्। जिल्ला अधिवेशनको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संवाद, सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्नु नै रास्वपाको राजनीतिक संस्कार भएको उल्लेख गरेका छन्। उनले पार्टीलाई थप सुदृढ र परिपक्व बनाउन लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन्।

लामिछानेले रास्वपाको पहिलो महाधिवेशन प्रक्रिया अन्तर्गत वडा र पालिका तहका अधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेको उल्लेख गर्दै अहिले जिल्ला अधिवेशनहरू भइरहेको बताएका छन्। उनका अनुसार अधिवेशन नेतृत्व चयनको प्रक्रिया मात्र नभई पार्टीको दीर्घकालीन जीवन, विधि–पद्धति, अभ्यास र स्वस्थ राजनीतिक परम्परा निर्माण गर्ने ऐतिहासिक अवसर पनि हो।

उनले रास्वपालाई उन्नत लोकतान्त्रिक पार्टी बनाउने लक्ष्य लिइएको भन्दै विचारसँगै शैली, व्यवहार र राजनीतिक संस्कार पनि उन्नत हुनुपर्ने धारणा राखेका छन्। पुरानो सोच, शैली र प्रवृत्तिलाई निरन्तरता दिएर नयाँ र जनमैत्री राजनीतिक शक्ति बन्न नसकिने उनको भनाइ छ।

स्थापनाकालमा सहमतिका आधारमा बाँडिएका तदर्थ जिम्मेवारीलाई स्थायी मानक मानेर पदको अपेक्षा राख्ने वा व्यक्तिगत योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टीका लागि हितकर नहुने उनले बताएका छन्। चार वर्षमै यस्ता प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय भएको उल्लेख गर्दै समयमै सच्याउन आवश्यक रहेको उनले औंल्याएका छन्।

पार्टीभित्र जिम्मेवारीमा रहेर भविष्यमा संसदीय अवसर प्राप्त गर्ने उद्देश्यले नेतृत्वका लागि अत्यधिक प्रतिस्पर्धा गर्ने प्रवृत्ति पनि देखिन थालेको भन्दै उनले यस्ता प्रवृत्तिलाई लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नुपर्ने बताएका छन्। लामिछानेले रास्वपा आजको अवस्थामा आइपुग्नु केही व्यक्तिको योगदानले मात्र नभई मतदाताको विवेक, पार्टी सदस्यहरूको समर्पण तथा पुराना र नयाँ पुस्ताको संयुक्त प्रयासका कारण सम्भव भएको बताएका छन्।

उनले अब पार्टीको लक्ष्य वैकल्पिक शक्ति बन्ने मात्र नभई मुलुकको नेतृत्व गर्न सक्ने सक्षम राजनीतिक शक्ति बन्ने रहेको उल्लेख गरे। त्यसका लागि संगठनलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्नेमा जोड दिँदै संगठन विस्तार हुँदा व्यक्तिगत स्थान गुम्ने डर त्याग्न आग्रह गरेका छन्।

“युगले दिएको अभिभारा पूरा गर्न, जनमत विस्तार गर्न र राजनीतिलाई सुसंस्कृत, पारदर्शी तथा जनमैत्री बनाउन हामी सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्छ,” उनले भने, “अब ‘म’ बाट ‘हामी’मा रूपान्तरण हुने बेला आएको छ।” उनले रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशन प्रक्रिया सभ्य, भव्य, सुसंस्कृत र सन्देशमूलक बन्ने विश्वाससमेत व्यक्त गरेका छन्।