धवलशमशेर राणा र दुर्गा प्रसाईंबीच नयाँ दल गठन गर्ने सहमति

धवलशमशेर राणा र दुर्गा प्रसाईंबीच नयाँ दल गठन गर्ने सहमति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका डा. धवलशमशेर राणा र नागरिक बचाउ महाअभियानका अभियन्ता दुर्गा प्रसाईंबीच नयाँ राजनीतिक दल गठन गर्ने सहमति भएको छ।

शुक्रबार राणा र प्रसाईंले ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै नयाँ राजनीतिक शक्तिको निर्माणमा सहकार्य गर्ने घोषणा गरेका हुन्।

सहमतिपत्रमा किरात, बौद्ध तथा वैदिक सनातन परम्पराको सम्मान गर्ने हिन्दु अधिराज्यवादी राष्ट्रवादी शक्ति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, संवैधानिक राजसंस्थाको पुनर्स्थापनाका लागि सशक्त, लोकतान्त्रिक र राष्ट्रवादी राजनीतिक शक्तिको आवश्यकता रहेको उल्लेख गरिएको छ।

दुवै पक्षले पृथ्वीनारायण शाहका दिव्य उपदेशमा आधारित राष्ट्रवादी दर्शनलाई राजनीतिक मार्गदर्शक सिद्धान्तका रूपमा अंगीकार गर्ने सहमति गरेका छन्।

सहमतिअनुसार सुधारमुखी संघीयता, ‘एक पटकको नेपाली सधैंको नेपाली’ अवधारणा तथा दोहोरो नागरिकताको व्यवस्थालाई समर्थन गर्ने नीति अवलम्बन गरिनेछ।

त्यस्तै, समान विचार र सिद्धान्त भएका राजनीतिक दल, अभियान, संस्था तथा व्यक्तिहरूसँग सहकार्य गर्दै नयाँ राजनीतिक दल घोषणा गर्ने निर्णय पनि गरिएको छ।