

काठमाडौं । दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो जिप एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन्।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धारा ढोलास्थित दक्षिणकाली सडकखण्डमा हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७२०७ नम्बरको सुमो र विपरीत दिशाबाट जाँदै गरेको बीएए ९७६८ नम्बरको बोलेरो जिप एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनामा बोलेरो चालकसहित दुवै सवारीसाधनमा सवार १४ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ भने १० जनाको अवस्था मध्यम रहेको बताइएको छ।
घाइते सबैलाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ।
घटनाबारे थप अनुसन्धानका लागि प्रहरीले सुमो चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।