

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा परीक्षा सम्पन्न भएको दुई साताभित्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।कार्यालयका अनुसार पूरक परीक्षा आगामी असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछ। यसअघि एसइई २०८२ को नियमित परीक्षाफल एक महिनाभित्र प्रकाशित गरिएको थियो।
परीक्षा नियन्त्रक टुकराज अधिकारी ले पूरक परीक्षाको नतिजा आगामी असार २५ गतेभित्र सार्वजनिक गर्ने लक्ष्य राखिएको जानकारी दिएका छन्। यस वर्षको एसइई परीक्षामा एक लाख ४६ हजार ५०७ विद्यार्थी ‘ननग्रेडेड’ भएका थिए। यद्यपि, पूरक परीक्षामा कति विद्यार्थी सहभागी हुनेछन् भन्ने यकिन तथ्याङ्क अझै प्राप्त भइनसकेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। कार्यालयका अनुसार ‘ग्रेड सी’ भन्दा कम प्राप्त गरेका विद्यार्थीहरू पूरक (ग्रेडवृद्धि) परीक्षामा सहभागी हुन पाउनेछन्। पूरक परीक्षामार्फत विद्यार्थीले आफ्नो शैक्षिक नतिजा सुधार गर्ने अवसर प्राप्त गर्नेछन्।