लगातार दोस्रो दिन घट्यो सेयर बजार, नेप्से ११.३७ अंकले ओरालो

लगातार दोस्रो दिन घट्यो सेयर बजार, नेप्से ११.३७ अंकले ओरालो

काठमाडौं । नेपाली सेयर बजारमा शुक्रबार पनि गिरावट देखिएको छ। अघिल्लो कारोबार दिन १३ अंकले घटेको नेप्से परिसूचक आज थप ११.३७ अंकले घट्दै निरन्तर दोस्रो दिन ओरालो लागेको हो।

कारोबार सुरु भएदेखि नै बजार दबाबमा रह्यो र दिनभर कुनै पनि समयमा सकारात्मक लय समात्न सकेन। आज ७४ कम्पनीको सेयर मूल्य बढ्दा १८४ कम्पनीको घट्यो भने ११ कम्पनीको मूल्य स्थिर रह्यो।

यद्यपि, कारोबार रकममा भने सुधार देखिएको छ। अघिल्लो दिन ४ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार ५ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको छ।

क्षेत्रगत सूचकतर्फ फाइनान्स समूह सबैभन्दा बढी २.७७ प्रतिशतले बढेको छ। यससँगै फाइनान्स समूहको सूचक चैत १५ यताकै उच्च बिन्दुमा पुगेको छ। होटल तथा पर्यटन समूह ०.०५ प्रतिशत र निर्जीवन बीमा समूह ०.०६ प्रतिशतले उकालो लागेको छ।

अन्य अधिकांश समूह भने घटेका छन्। बैंकिङ ०.४४ प्रतिशत, विकास बैंक ०.१६ प्रतिशत, जलविद्युत् ०.७४ प्रतिशत, लगानी ०.३७ प्रतिशत, जीवन बीमा ०.४४ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.७८ प्रतिशत, माइक्रोफाइनान्स ०.१६ प्रतिशत, अन्य ०.७४ प्रतिशत तथा व्यापार समूह ०.२३ प्रतिशतले घटेका छन्।

कम्पनीगत प्रदर्शनमा कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ। त्यसपछि उपकार लघुवित्त ९.७१ प्रतिशत, बेस्ट फाइनान्स ७.५५ प्रतिशत र सिटी होटल ७.०६ प्रतिशतले बढेका छन्। विभिन्न बैंक तथा वित्तीय संस्थाका डिबेन्चरहरू पनि मूल्य वृद्धिको सूचीमा अगाडि रहेका छन्।

गिरावटतर्फ होटल फरेस्ट इनको मूल्य ४.२२ प्रतिशत, माबिलुङ इनर्जी ४.१७ प्रतिशत, रिजलाइन इनर्जी ३.८३ प्रतिशत र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक २.९९ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी, सिटी होटल, सेन्ट्रल फाइनान्स, रिडी पावर, रिलायन्स स्पिनिङ मिल्स र बेस्ट फाइनान्स सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा परेका छन्।