जगद्गुरु शंकराचार्यको १० दिने नेपाल भ्रमण सम्पन्न, धार्मिक पर्यटन प्रवर्द्धनमा नयाँ आयाम

जगद्गुरु शंकराचार्यको १० दिने नेपाल भ्रमण सम्पन्न, धार्मिक पर्यटन प्रवर्द्धनमा नयाँ आयाम

काठमाडौं । भारतको कर्नाटकस्थित श्रृंगेरी शारदा पीठका परमपूज्य जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती महास्वामीज्यूले १० दिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्किनुभएको छ। जेठ ८ गतेदेखि १७ गतेसम्म सञ्चालन भएको “धार्मिक विजय यात्रा–२०८३” अन्तर्गत उहाँले नेपालका विभिन्न धार्मिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रको भ्रमण गर्नुभएको हो।

आयोजक शारदा पीठ नेपालका अध्यक्ष भेषराज थापाले उहाँको भ्रमण सफलतापूर्वक सम्पन्न भएको र भ्रमणले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई नयाँ आयाम दिएको बताउनुभयाे।

भ्रमणका सम्बन्धमा बिहीबार आयोजित पत्रकार सम्मेलन गरी थापाले जगद्गुरु शङ्कराचार्यको भ्रमणले नेपालको धार्मिक पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। भ्रमण सफल बनाउन सहयोग पुर्‍याउने नेपाल सरकार, सुरक्षा निकाय, पशुपति क्षेत्र विकास कोष, विभिन्न धार्मिक संस्था, भारतीय दूतावास, सञ्चारकर्मी, स्वयंसेवक तथा श्रद्धालु भक्तजनप्रति शारदा पीठ नेपालले आभार व्यक्त गरेको छ।

जगद्गुरु शङ्कराचार्य महास्वामीजीको नेपाल भ्रमणको सम्पूर्ण व्यवस्थापन भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले गर्नुभएको पीठका अध्यक्ष थापाले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयाे । महास्वामीजीलाई स्वागत र बिदाइ गर्न पनि गुरुङ दम्पती विमानस्थलमा पुग्नुभएकाे थियाे । व्यवसायीका रुपमा जति सफल र परिचित छन् गुरुङ समाजसेवीका रुपमा त्यतिनै सुपरिचित हुनुहुन्छ ।

संयोजक गणेश केसीले जगदगुरु शंकराचार्यको नेपाल भ्रमण अत्यन्तै सफल रहेको र उहाको भ्रमणले नेपाल र भारतबीचको सुमधुर सम्बन्ध अझ प्रगाढ बनाएको बताउनुभयाे ।

नेपाल आगमनका अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि पशुपतिनाथ मन्दिर परिसरस्थित शंकराचार्य मठसम्म उहाँको भव्य स्वागत गरिएको थियो। विमानस्थलमा आयोजक समिति, विभिन्न मठका मठाधीश, नेपाल सरकारका उच्च अधिकारी, सुरक्षा निकायका प्रमुख तथा श्रद्धालु भक्तजनले विशेष स्वागत गरेका थिए। पञ्चकन्या, स्वस्तिवाचन, पञ्चेबाजा, धिमेबाजा तथा सांस्कृतिक झाँकीसहित गरिएको स्वागतले राजधानीको धार्मिक वातावरणलाई थप उल्लासमय बनाएको थियो।

भ्रमणका क्रममा महास्वामीज्यूले काठमाडौंस्थित पशुपतिनाथ, बुढानिलकण्ठ, राममन्दिर, भाटभटेनी देवी मन्दिर, कालभैरव, चतुर्व्यूह नारायण तथा भालेश्वर महादेवलगायतका धार्मिक स्थलमा दर्शन तथा पूजा गर्नुभयो। गोदावरीस्थित सरस्वती कुण्ड र तिलेश्वर महादेव मन्दिरमा विशेष पूजा गर्नुका साथै पाटनको कृष्ण मन्दिर, छ्याबहाल मठ तथा अन्य धार्मिक सम्पदाको अवलोकन गर्नुभयो।

उहाँले कास्कीको विन्ध्यवासिनी मन्दिर, गुप्तेश्वर महादेव, केदारेश्वर मन्दिर, मुस्ताङको मुक्तिनाथ, कागबेनी तथा म्याग्दीको गलेश्वरधाममा समेत दर्शन तथा पूजा अर्चना गर्नुभयो। मुक्तिनाथस्थित १०८ धारामा स्नान गरी विशेष पूजा गर्नुभएका महास्वामीज्यूले जोमसोमस्थित विशाल शालिग्राम शिला तथा बागलुङको शालिग्राम संग्रहालयको समेत अवलोकन गर्नुभएको थियो।

तनहुँको दमौलीस्थित वेदव्यास जन्मस्थल र देवघाटधाममा समेत पुग्नुभएका उहाँले कालीगण्डकी र त्रिशूली नदीको संगममा स्नान गरी वशिष्ठ गुफा, सीता गुफा, गलेश्वर महादेव, चक्रशिला, मणिमुकुन्देश्वर महादेव तथा हरिहर मन्दिरमा पूजा गर्नुभएको थियो। देवघाटस्थित हरिहर आश्रममा दुई दिन बस्दै संस्कृतका विद्यार्थी, प्राचार्य तथा विद्वानहरूसँग वेद–वेदाङ्ग र शास्त्रार्थसम्बन्धी छलफल समेत गर्नुभयो।

हरिहर आश्रम परिसरमा निर्माण गरिने ‘शंकराचार्य स्वाध्याय भवन’ का लागि शिला पूजा सम्पन्न भएको छ भने उपयुक्त मुहूर्तमा शिलान्यास गर्ने अनुमति पनि प्रदान गरिएको आयोजकले जनाएको छ। भ्रमणका क्रममा गलेश्वर आश्रम, महेश्वर आश्रम र हरिहर आश्रमका तर्फबाट संयुक्त रूपमा उहाँलाई अभिनन्दन गरिएको थियो।

नेपाल बसाइका क्रममा जगद्गुरुले प्रत्येक साँझ श्रृंगेरी मठको परम्पराअनुसार चन्द्रमौलेश्वर पूजा गरी भक्तजनलाई दर्शन तथा प्रसाद वितरण गर्नुभयो। विभिन्न स्थानमा आयोजित कार्यक्रममा उहाँले धार्मिक प्रवचन दिँदै नेपाललाई ऋषिमुनिहरूको तपोभूमि तथा योगीहरूको सिद्धस्थल भएकाले “देवभूमि नेपाल” भएको बताउनुभयो।

काठमाडौंमा आयोजित विशेष कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले नेपाल सरकार र नेपाली नागरिकका तर्फबाट जगद्गुरु शंकराचार्यलाई अभिनन्दन गर्नुभएको थियो। त्यस्तै, बुढानिलकण्ठस्थित इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) को नवनिर्मित बाल अस्पताल भवन हस्तान्तरण कार्यक्रममा उहाँको विशेष उपस्थिति रहेको थियो। सोही अवसरमा १ करोड ११ लाख ११ हजार १११ रुपैयाँको “शंकराचार्य बालगोपाल उपचार कोष” स्थापना गर्ने घोषणा गरिएको थियो।

महास्वामीज्यूले नेपाल प्रहरी प्रधान कार्यालय र पोखरास्थित नेपाली सेनाको पश्चिम पृतना मुख्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो। पोखरामा वृक्षारोपण गरिएको स्थललाई “शंकराचार्य वाटिका” नामकरण गरिएको छ।

नेपाल भ्रमणको समापन अवसरमा जगद्गुरुले नेपाली भक्तजनको श्रद्धा र आतिथ्यप्रति खुसी व्यक्त गर्दै नेपालमा प्राप्त सम्मान र यात्राको व्यवस्थापनप्रति सन्तुष्टि व्यक्त गर्नुभयो।

आयोजक संस्था सरस्वती (शारदा) पीठ, नेपालका अनुसार करिब ६० वर्षपछि श्रृंगेरी शारदा पीठका शंकराचार्यको नेपाल भ्रमण भएको हो। यसअघि वि.सं. २०२३ सालमा ३५औँ जगद्गुरु शंकराचार्य श्री श्री अभिनव विद्यातीर्थ महास्वामीज्यूले नेपाल भ्रमण गर्नुभएको थियो।

आयोजकले जगद्गुरुको भ्रमण सफल बनाउन सहयोग पुर्‍याउने नेपाल सरकार, सुरक्षा निकाय, पशुपति क्षेत्र विकास कोष, विभिन्न मठ–मन्दिर, भारतीय दूतावास, धार्मिक तथा सामाजिक संघसंस्था, स्वयंसेवक, सञ्चारकर्मी र श्रद्धालु भक्तजनप्रति आभार व्यक्त गरेको छ। आयोजकका अनुसार यस भ्रमणले नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै नेपालको धार्मिक पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।