

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टी अध्यक्षमा उठेमा हार्ने र पछि विरोधमा लाग्ने दावी गरेका छन्।
काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने विधान महाधिवेशन प्रतिनिधिहरूसँगको अनौपचारिक भेटघाटमा ओलीले पार्टी र नेतृत्वको दृष्टिकोण प्रस्तुत गर्दै भने, “पूर्व राष्ट्रपति भण्डारीले पार्टीमा विधिवत सदस्यता नलिएर मिडिया र अन्य नेतासँग भेटेर सक्रिय राजनीतिमा आउनु सही होइन। यसले पार्टीको लक्ष्य र आन्तरिक एकतालाई नोक्सान पुर्याउँछ।”
ओलीले भण्डारीको सम्मान र माया अरू नेताले नगरेको भए पनि, उनले पार्टीमा आएर अध्यक्ष पदमा उठेमा हार्ने र पछि पार्टीविरुद्ध लाग्ने सम्भावना रहेको बताएका छन्। उनले थपे, “यदि हार्नु भयो भने पार्टीले भीम रावलको जस्तो स्पष्टीकरण र कारवाहीमा जानुपर्ने अवस्था आउँछ। त्यसको सट्टा उहाँ अहिले नै सम्मानजनक हैसियतमा हुनुहुन्छ।”
अध्यक्ष ओलीले भण्डारीका पछिल्ला गतिविधिलाई उचित नभएको उल्लेख गर्दै भने, “उहाँले च्यासलले सदस्यता खोस्यो, पार्टी नेतृत्वले देश चलाउन सकेन जस्ता मिथ्या आरोप दिएका छिन्। उहाँका निकट साथीहरूले यसरी उल्टाउने काम नगर्न सम्झाउनु पर्छ।”
यसरी ओलीले भण्डारीको सक्रिय राजनीतिमा प्रवेशलाई अस्वीकार गर्दै पार्टीको एकता र नेतृत्व स्थायीत्वमा जोड दिएका छन्।