गाजामा इजरायली हमलामा १९२ पत्रकारको मृत्यु, १८९ प्यालेस्टिनेली

गाजामा इजरायली हमलामा १९२ पत्रकारको मृत्यु, १८९ प्यालेस्टिनेली

काठमाडौं । हमास विरुद्धको अभियानमा लागेको इजरायलले अहिलेसम्म गाजामा कम्तीमा १९२ पत्रकारको हत्या गरेको छ। कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) का अनुसार बितेका २२ महिनामा मारिएका पत्रकारमध्ये १८९ जना प्यालेस्टिनेली रहेका छन्।

सोमबार इजरायलले गाजाको एक अस्पतालमा हवाई आक्रमण गर्दा ५ पत्रकारसहित २० जनाको मृत्यु भएको थियो। उक्त अस्पतालमा लगातार दुई हमला भएको थियो, जसको समयमा पत्रकारहरूले आक्रमणको प्रत्यक्ष कभर गरिरहेका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायतले घटनाको आलोचना गरेपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसलाई दुःखद दुर्घटना भन्दै माफी मागेका छन्। उनले इजरायलले पत्रकार, चिकित्सक र सबै नागरिकको कामको कदर गरेको र सेनाले घटनाको अनुसन्धान गरिरहेको बताएका छन्।

इजरायली सेनाका प्रवक्ता एफी डेफ्रिनले पनि घटनामा गल्ती भएको स्वीकार गर्दै, “आईडीएफ जानाजानी नागरिकलाई लक्षित गर्दैन,” भनेका छन्।

यद्यपि, संयुक्त राष्ट्रसंघका अनुसार गाजामा इजरायली हमलामा चिकित्सा पेशासँग सम्बन्धित १,५०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ।