साताको अन्तिम दिन सेयर बजार ओरालो, नेप्से ९.२२ अंकले घट्यो

साताको अन्तिम दिन सेयर बजार ओरालो, नेप्से ९.२२ अंकले घट्यो

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार फेरि ओरालो लागेको छ। अघिल्लो कारोबार दिन झैँ आज पनि नेप्से परिसूचक घटेर बन्द भएको हो।

बिहीबार नेप्से ९.२२ अंकले घटेर २७५७.९७ विन्दुमा झरेको छ। आज सेन्सेटिभ इण्डेक्स ०.६९ अंक, फ्लोट इण्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२१ अंकले घटेका छन्।

कारोबार रकममा समेत गिरावट आएको छ। बुधबार ५ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार ३१९ स्टकका ५६ हजार ८२४ पटकका कारोबारमार्फत ५ अर्ब २ करोड रुपैयाँ बराबरको १ करोड ६८ लाख कित्ता सेयर किनबेच भएको छ।

यस दिन विकास हाइड्रोपावरको सेयर फेरि पनि सकारात्मक सर्किट लेभलमा पुगेको छ। कम्पनीको मूल्य ३२ रुपैयाँ १० पैसाले बढ्दै ३५३ रुपैयाँ ४० पैसामा पुगेको छ। सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर पनि करिब साढे ५ प्रतिशतले बढेको छ। तर, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको मूल्य ४.६५ प्रतिशतले घट्दै सर्वाधिक गिरावट भोग्यो।

कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। कम्पनीको २४ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भयो। त्यसपछि नेपाल पुनर्बीमा कम्पनीको २० करोड र बलेफि हाइड्रोपावरको १४ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो।

१३ उपसमूहमध्ये बिहीबार १२ उपसमूह ओरालो लागे भने निर्जीवन बीमा उपसमूह ०.१४ प्रतिशतले बढ्दै हरियालीमा देखियो। घटेका उपसमूहहरूको गिरावट दर भने १ प्रतिशतभन्दा कम रह्यो।