

काठमाडौँ । नेकपा (एमाले)ले दोस्रो विधान महाधिवेशनको तयारीका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ। बैठक भदौ १३ गते बिहान ११ बजे ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकमा विधान संशोधन प्रस्ताव प्रतिवेदनमाथि छलफल हुनेछ। प्रतिवेदन पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पेस गर्नेछन्। यसअघि एमालेले मातहतका सबै कमिटीलाई भदौ १० गतेभित्र संशोधन सम्बन्धी सुझाव पठाउन समय दिएको थियो।
कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार सुझावलाई समेटेर तयार पारिएको प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेस गरिनेछ र छलफलपछि पारित गरिनेछ।
यसअघि नवौँ केन्द्रीय कमिटी बैठक साउन ५ र ६ गते बसेको थियो। एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ गते ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने छ। महाधिवेशनमा २,१२८ जना प्रतिनिधि र २६४ जना आयोजकसहित २,३९२ जनाको सहभागिता रहनेछ।