

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकमा आइपरेको चुनौतीको समाधान कांग्रेसले मात्र गर्नसक्ने दाबी गरेका छन् । प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचन कार्यक्रममा बोल्दै उनले राष्ट्रिय शक्ति भएपछि चुनावलाई महत्त्वपूर्ण मान्नु स्वाभाविक भए पनि मूल्य–मान्यतासँग सम्झौता गरेर सत्तामा टिकिराख्ने कुरा सम्भव नहुने स्पष्ट पारे ।
‘चुनाव जित्ने आकाङ्क्षा राख्नुलाई स्वाभाविक रूपमा लिनुपर्छ । तर, सबै कुरा त्यो होइन,’ थापाले भने, ‘सत्तामा पुग्ने कुरा पनि सशर्त हो, निशर्त होइन। हाम्रा आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर प्राप्त भएको सत्ताको कुनै अर्थ रहँदैन ।’
उनले लोकतन्त्रमा संख्याको आधारमा निर्णय लिन पाइने भए पनि त्यसलाई समाज र पार्टीभित्र सबैले स्वीकार्ने खालको हुनुपर्नेमा जोड दिए ।
‘संख्याको आधारमा गरिने निर्णय वैधानिक हुन्छ, तर वैध भने हुँदैन,’ उनले भने, ‘निर्णय गर्दा पार्टीभित्र वा समाजले स्वीकार्छ कि स्वीकार्दैन भन्ने कुरामा ध्यान दिनुपर्छ । सबैले स्वीकारे मात्र त्यसलाई वैध मानिन्छ ।’
थापाले कांग्रेसको आस्था, सिद्धान्त र विचारसँग सम्झौता गरेर कुनै पनि शक्ति टिक्न नसक्ने बताउँदै कांग्रेसले नै देशलाई मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे ।