शिक्षा विधेयकविरुद्ध ५ बुँदे मागसहित निजी विद्यालय सञ्चालकद्वारा आन्दोलनकाे घोषणा

शिक्षा विधेयकविरुद्ध ५ बुँदे मागसहित निजी विद्यालय सञ्चालकद्वारा आन्दोलनकाे घोषणा

काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८० अन्तिम छलफलमा पुगेको बेला निजी विद्यालय सञ्चालक संगठन नेशनल प्याब्सन र प्याब्सनले संयुक्त रूपमा आन्दोलन घोषणा गरेका छन्।

बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दुवै संगठनले ५ बुँदे माग अघि राख्दै भदौ ५, ६ र ८ गतेसम्म विभिन्न चरणमा प्रदर्शन र र्‍याली गर्ने कार्यक्रम सार्वजनिक गरे।

आन्दोलनका प्रमुख मागहरू यस प्रकार छन्:

  1. विधेयकमा उल्लेखित “पूर्ण छात्रवृत्ति” शब्द हटाइनुपर्ने।

  2. विद्यालयमा उत्पादन नहुने पोसाक, स्टेशनरी, शैक्षिक सामग्री र खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने।

  3. कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई “गैर–नाफामूलक” बनाउने प्रावधान हटाउनुपर्ने।

  4. छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमै रहनुपर्ने; पालिका प्रतिनिधिको सहभागितामा पारदर्शी समिति बनाएर वितरण गर्न सकिने व्यवस्था गर्नुपर्ने।

  5. ४५% आरक्षणसहितको प्रावधान हटाइनुपर्ने।

पत्रकार सम्मेलनमा नेशनल प्याब्सनका अध्यक्ष सुभाष न्यौपाने र प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले भदौ ५ गते माइतीघर मण्डलादेखि नयाँबानेश्वर चोकसम्म प्रिन्सिपलहरूले ब्यानरसहित र्‍याली गर्ने, भदौ ६ गते देशभरका स्कुल बस उतारेर नगर परिक्रमा गर्ने, र काठमाडौँको चक्रपथ वरिपरि कालो झन्डा/ब्यानरसहित र्‍याली गर्ने कार्यक्रम तय गरिएको जानकारी दिएका छन्।

भदौ ८ गते निर्णायक आन्दोलनमा प्रवेश गर्ने उद्घोष गर्दै उनीहरूले माग सम्बोधन नभए कडा सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनी दिएका छन्। सरकारले विधेयक संसद्‍मा पेस गर्ने तयारी गरिरहेकै बेला निजी विद्यालय सञ्चालकहरूले असहमति जनाएका हुन्। यद्यपि, असहमति जनाइएका अधिकांश बुँदामा संसदीय समितिमा सहमति जुटिसकेको छ।