

काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिज अन्तर्गत नेपालले आफ्नो पाँचौं म्याचमा मेलबर्न रिनेगेट्स एकेडेमीसामु १४० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ९ विकेट गुमाउँदै १३९ रन बनायो।
आज नियमित कप्तान रोहितकुमार पौडेललाई बेन्चमा राखेर उपकप्तान दिपेन्द्रसिंह ऐरीलाई कप्तानी जिम्मेवारी दिइएको थियो। मध्यक्रममा रोहितको अनुपस्थितिले टोलीलाई केही चुनौती थपेको थियो।
ओपनिङमा कुशल भुर्तेल र भीम सार्कीले शुरुआत गरे। भुर्तेल ६ बलमा १ रनमा आउट भए। तेस्रो नम्बरमा आएका आरिफ शेखसँग भीमले छोटो आक्रमक साझेदारी गरे; भीम १२ बलमा १७ रन बनाउँदै आउट भए भने आरिफ ७ बलमा १२ रनमा पेभिलियन फर्किए। यसरी ३२ रनमा तीन विकेट गुमाउँदै नेपाल दबाबमा परेको थियो।
कुशल मल्ल र कप्तान ऐरीबीच ५० रनको उपयोगी साझेदारी भयो। मल्लले २२ बलमा २९ रन बनाएर आउट भए, जसमा एक छक्का र एक चौका समावेश थियो। त्यसपछि लगातार विकेट गुम्दै गए; गुल्शन झा २ र सोमपाल कामी ० रनमा आउट भए भने कप्तान ऐरी २८ बलमा २७ रनमा पेभिलियन फर्किए।
१०० रनमा सात विकेट गुमाएको अवस्थामा नेपाललाई लोकेश बलमेले सहारा दिए। आठौँ नम्बरमा आएका उनले १६ बलमा २४ रन प्रहार गरे, जसमा १९ औं ओभरको अन्तिम तीन बलमा लगातार दुई छक्का र एक चौका समावेश थियो। रुपेश सिंहले २१ बलमा १६ रन थपे।
यसरी नेपालले १४० रनको चुनौतीपूर्ण लक्ष्य राख्दै विपक्षी टिमका लागि दबाब सिर्जना गरेको छ।