

काठमाडौं । अष्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० शृंखलामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले होबार्ट हुरिकेन्स एकेडेमीसामु १८१ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। काजालिस एरिना पामर्स्टनमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १८० रनको योगफल तयार पार्यो।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ३५ रन जोडे भने आसिफ शेखले २९, कुशल भुर्तेलले २७, लोकेश बमले अविजित २५ र भीम सार्कीले १८ रनको योगदान दिए। हुरिकेन्सका बलरमध्ये निवेथन राधाकृष्णन र राफ म्याकमिलनले समान दुई–दुई विकेट झारे। त्यस्तै, मार्कस बेन, गाबे बेल र ब्राड्ली होपले समान एक–एक विकेट हात पारे।
नेपाल अहिले प्रतियोगितामा पहिलो जितको खोजीमा छ। यसअघि उसले नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रन, बंगलादेश ‘ए’सँग ३२ रन र मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजय भोगिसकेको छ।