

काठमाडौं : रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुने आसन्न उपचुनावमा २६ राजनीतिक दलले भाग लिन पाउने भएका छन्। निर्वाचन आयोगले दर्ताका लागि निवेदन दिएका २७ दलमध्ये आवश्यक कानुनी प्रक्रिया पूरा नगरेका कारण रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई अयोग्य ठहर गरेको हो।
आयोगका प्रवक्ता नीता पोखरेलका अनुसार नाउपाले दर्ताका लागि अनिवार्य विवरण-जस्तै केन्द्रीय समितिको निर्णयलगायत-पेश नगरेकाले योग्य नठहरिएको हो। पार्टीभित्रको आन्तरिक विवादका कारण संरक्षक रेशमलाल चौधरी पक्षका रामलाल डगौराले साउन २३ गते र अध्यक्ष रञ्जिता श्रेष्ठले साउन २७ गते छुट्टाछुट्टै निवेदन दिएका थिए।
संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार साउन २१ देखि २७ गतेसम्म दर्ता भएका निवेदनमध्ये कानुनी रीत पूरा गरेका २६ दललाई योग्य ठहर गरिएको आयोगले स्पष्ट पारेको छ।
दल दर्ता सूचीमा पहिलो नम्बरमा मंगोल नेशनल अर्गनाइजेशन पार्टी र अन्तिम नम्बरमा खम्बुवान राष्ट्रिय मोर्चा, नेपाल रहेका छन्।
