

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले बढ्दै उकालो लागेको छ। अघिल्लो दिन आइतबार घटेर बन्द भएको नेप्से यस दिन भने वृद्धि सहित बन्द भएको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक ९.१६ अंकले बढ्दै २७७०.३९ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.६६ अंक, फ्लोट इन्डेक्स ०.६६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६४ अंकले बढेका छन्।
यद्यपि नेप्से बढेपनि कारोबार रकम भने घटेको छ। आइतबार ७ अर्ब ७३ करोड रुपैयाँबराबरको सेयर किनबेच भए पनि सोमबार ३२० स्टकका ६७ हजार ९५९ पटकको कारोबारमार्फत ६ अर्ब १७ करोड ९८ लाख रुपैयाँ बराबरको १ करोड ५२ लाख २९ हजार कित्ता सेयर कारोबार भएको हो।
यस दिन युनियन हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ६.१० प्रतिशत बढेको छ। त्यस्तै, अप्पर साङ्गे हाइड्रोपावर करिब ६ प्रतिशत र अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी करिब ५.५ प्रतिशतले बढेका छन्। तर, सम्पदा लघुवित्तको सेयरमूल्य ४.८१ प्रतिशतले घटेको छ।
कारोबार रकमका हिसाबले नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २१ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसपछि बुटवल पावर कम्पनी (करिब २१ करोड) र एनआरएन इन्फ्रास्ट्रक्चर (साढे १८ करोडभन्दा बढी) प्रमुख कारोबार भएका कम्पनी बने।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूह उकालो लाग्दा २ उपसमूह ओरालो लागेका छन्। व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.२९ प्रतिशत बढेको छ भने अन्य बढेका उपसमूहको वृद्धिदर १ प्रतिशतभन्दा कम छ। म्युचुअल फण्ड र अन्य उपसमूह भने यस दिन घटेका हुन्।