

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवा विधेयकमा कुलिङ पिरियड हटाउने काम एमालेको खेल भएको आरोप लगाएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसले विधेयकमा कुलिङ पिरियड राख्नुपर्ने धारणा राखे पनि एमालेले छलकपट गर्दै त्यसलाई हटाउने प्रयास गरेको दाबी गरे। कोइरालाले भने, “हामीले विधेयकमा कुलिङ पिरियड राख्नुपर्छ भनेर बनायौँ, तर त्यसलाई समाप्त गर्ने खेल एमालेबाट सुरु भयो। अब लुकाउनुपर्ने अवस्था छैन।”
उनले राष्ट्रिय सभामा एमाले सांसदहरूले कुलिङ पिरियड कायम गर्न संशोधन प्रस्ताव हाले पनि नेतृत्वस्तरको निर्देशनमा छलकपट भएको आरोप लगाए।
कोइरालाले भूमि सम्बन्धी विधेयकबारे पनि एमालेमाथि आक्षेप लगाए। उनले गोकर्ण रिसोर्ट, पोखराको लिचीबारी र गिरीबन्धु टी स्टेटलगायत स्थानमा एमालेको स्वार्थ जोडिएको टिप्पणी गरे। “संघीय मामिला मन्त्रीले राजीनामा दिए तर भूमि सुधार मन्त्री अझै पनि जबरजस्ती पदमा बसिरहेका छन्,” उनले भने।
उनका अनुसार कास्की एमालेको जिल्ला कमिटीले समेत भूमि मन्त्रीको राजीनामा मागिसकेको छ तर कांग्रेसले यसबारे बोल्न नसकेको अवस्था छ।
त्यस्तै, उनले रेशम चौधरी नेतृत्वको दलका अध्यक्षलाई ‘बिचौलिया’ भएको आरोप लगाउँदै सांसदसमेत बिचौलिया बनेपछि देश थप समस्यामा पर्ने चेतावनी दिए। भूमि मन्त्रीले कांग्रेस सांसदहरूले पेश गरेको संशोधन प्रस्ताव नस्वीकारेकै कारण बैठक नै बस्न नसकेको उनको भनाइ थियो।
सरकारले सात बुँदे सहमति अनुसार काम नगरेको उल्लेख गर्दै कोइरालाले कांग्रेसकै नेतृत्वमा देश अझै भद्रगोलतिर धकेलिँदै गएको टिप्पणी गरे।