

चितवन । चितवनका दुग्ध किसानले दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ पुर्याउन माग गरेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले सोमबार पत्रकार सम्मेलन गरी हाल कायम मूल्य बढाउन सरकारसँग माग गरेको हो । संघका अध्यक्ष किशोर बगालेले दूधको मूल्य वृद्धि नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । खाद्यान्न तथा पशुआहारको मूल्य मनपरी ढङ्गले बढ्दा किसान मर्कामा परेको उनको भनाइ छ ।
प्रत्येक दुई वर्षमा दूधको मूल्य पुनरावलोकन गर्ने व्यवस्था भए पनि यस विषयमा कुनै छलफल हुन नसकेको बगालेले बताए । कृषि मन्त्रालयलगायत सम्बन्धित निकायमा पटक–पटक ज्ञापनपत्र बुझाउँदा पनि सरकारले चासो नदिएको उनको गुनासो छ । हाल किसानले प्रतिलिटर ६५ रुपैयाँमा दूध बिक्री गर्दै आएका छन् । उक्त मूल्य बढाएर ७५ रुपैयाँ पुर्याउनुपर्ने किसानको माग छ ।
संघका अनुसार २०७६ सालमा दूधमा आत्मनिर्भर जिल्ला घोषणा भएको चितवनमा दैनिक तीन लाख ५५ हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जिल्लामा करिब ४० हजार किसान दुग्ध उत्पादन व्यवसायमा आबद्ध रहेको संघले जनाएको छ ।