ग्लोबल आइएमई बैंकको १२ तले कर्पोरेट भवन निर्माण सुरु

ग्लोबल आइएमई बैंकको १२ तले कर्पोरेट भवन निर्माण सुरु
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण गर्ने भएको छ। भवन निर्माणको औपचारिक सुरुआत गर्दै शुक्रबार बैंकले निर्माणस्थलमा भूमिपूजा सम्पन्न गरेको छ। बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विधिपूर्वक भूमिपूजा गरी निर्माण कार्यको शुभारम्भ गरेका हुन्।

करिब एक लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा निर्माण हुने भवनमा दुई तला भूमिगत पार्किङ, एउटा भुइँतला र नौ वटा माथिल्ला तला रहनेछन्। आधुनिक वास्तुकला, वातावरणमैत्री पूर्वाधार र अत्याधुनिक प्रविधिको प्रयोग गरी भवन निर्माण गर्न लागिएको बैंकले जनाएको छ।

भूमिपूजापछि बोल्दै अध्यक्ष ढकालले उक्त भवन वाणिज्य बैंकहरूको कर्पोरेट कार्यालयमध्ये सबैभन्दा आधुनिक र ठूलो संरचना हुने बताए। नयाँ भवन काठमाडौं उपत्यकाकै नमुना व्यावसायिक भवनका रूपमा स्थापित हुने उनको विश्वास छ। भवन निर्माणपछि सेवाग्राहीले अझ सहज, प्रविधिमैत्री र प्रभावकारी बैंकिङ सेवा प्राप्त गर्ने उनले बताए।

त्यस्तै, प्रमुख कार्यकारी अधिकृत रेग्मीले सेवाग्राही तथा कर्मचारीको सुविधालाई ध्यानमा राखेर भवनको डिजाइन तयार गरिएको जानकारी दिए। भवनमा पार्किङदेखि भित्री संरचनासम्म आधुनिक इन्जिनियरिङलाई प्राथमिकता दिइएको उनले बताए।

भवनलाई ऊर्जा बचत गर्ने प्रविधिमा आधारित बनाइने बैंकले जनाएको छ। पानीको व्यवस्थापनका लागि वर्षाको पानी सङ्कलन तथा प्रशोधन प्रणाली जडान गरिनेछ भने विद्युत् खपत घटाउन सौर्य ऊर्जाको प्रयोग गरिनेछ। यसबाट प्राकृतिक स्रोतको उचित उपयोग र वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलसहित उच्च व्यवस्थापन समूह तथा कर्मचारीहरूको उपस्थिति थियो।

आधुनिक प्रविधिको प्रयोगमार्फत ग्राहक सेवा प्रदान गर्दै आएको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको छ। त्यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेस्ट इम्प्लोयरलगायतका सम्मान प्राप्त गरेको छ।

ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो। बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशस्थित तीन प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ।

यसका साथै बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएको छ।