

काठमाडौं । तिहारपछिको पहिलो कारोबार दिन शुक्रबार सेयर बजारमा गिरावट आएको छ । बजार परिसूचक नेप्से ६.४४ अंकले घटेर २ हजार ६४८ अंकमा झरेको हो ।
शुक्रबार कारोबारमा आएका कम्पनीमध्ये ११० वटाको सेयर मूल्य बढेको छ भने १६० वटाको घटेको छ । त्यस्तै ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।
कारोबार अवधिभर अधिकांश समय घटेको बजारमा कुल ३ अर्ब ५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन ३ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको थियो ।
शुक्रबार अधिकांश समूहगत सूचकमा गिरावट आएको छ । बैंकिङ ०.२३, फाइनान्स ०.४७, लगानी ०.२२, जीवन बीमा ०.६७, उत्पादन तथा प्रशोधन ०.७९, लघुवित्त ०.४३ र अन्य समूह ०.९४ प्रतिशतले घटेका छन् ।
यद्यपि निर्जीवन बीमा ०.३३, होटल तथा पर्यटन ०.२४, जलविद्युत् ०.२७ र विकास बैंक समूह ०.०४ प्रतिशतले बढेका छन् ।
शुक्रबार स्वेतगंगा हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ७.५६ प्रतिशतले बढेको छ । सामलिङ पावरको ५.८७, एसियन हाइड्रोपावरको ५.२६, बेनी हाइड्रोपावरको ३.९३ र सोपान फर्मास्युटिकल्सको ३.४५ प्रतिशतले मूल्य बढेको छ ।
यसैगरी, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै ९.५६ प्रतिशतले घटेको छ । घोराही सिमेन्टको ७.८७, सर्वोत्तम पेन्ट्सको ४.९५ र सीवाईसी लघुवित्तको ४.९२ प्रतिशतले मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा घोराही सिमेन्ट, सानिमा माइ हाइड्रोपावर, स्वेतगंगा हाइड्रोपावर, शिवम् सिमेन्ट र ग्लोबल आईएमई बैंक क्रमशः अगाडि रहेका छन् ।