कोप-३१ मा जलवायु वित्त र ऋणमोचनको मुद्दा उठाएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए

कोप-३१ मा जलवायु वित्त र ऋणमोचनको मुद्दा उठाएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए

काठमाडौं । टर्किएमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आइतबार स्वदेश फर्किएका छन्। सम्मेलनमा उनले जलवायु वित्त, जलवायु सङ्कटबाट प्रभावित मुलुकका लागि ऋणमोचन र उत्थानशीलताका लागि वित्तीय स्रोत परिचालनलगायत विषयमा नेपालको धारणा राखेका थिए।

अर्थमन्त्री वाग्लेले ४४ वटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरेका थिए।

त्यस्तै, सात वर्षअघि स्थापना भएको ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धन’ मा नेपाललाई १०५औँ नयाँ सदस्यका रूपमा सहभागी गराउँदै ‘उत्थानशीलताका लागि वित्त’ सम्बन्धी नीतिगत अवधारणा छलफलका लागि पेस गरेका थिए।

विपद्पछि ऋणमोचनको विश्वव्यापी अभियान अघि बढाएकी बार्बाडोसकी प्रधानमन्त्री मिया मोट्ली र विश्व अर्थतन्त्रको ८५ प्रतिशत हिस्सा ओगट्ने जी–२० समूहको अध्यक्षता गर्न लागेको बेलायतका विदेशमन्त्री एड मिलिब्यान्डसँग विशेष अन्तर्राष्ट्रिय प्याकेजमा सहकार्य गर्ने प्रतिबद्धता प्राप्त भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

कोप–३१ मा नेपालले उठाएका विषयमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने उद्देश्यले अर्थमन्त्री वाग्लेले पाँच जना प्रभावशाली जलवायु दूतसँग पनि छलफल गरेका थिए। सचिवालयका अनुसार उनले बेलायतकी रेचेल काइट, अस्ट्रेलियाका विल नानकर्भिस, स्वीडेनका माटियास फ्रुमेरी, जमैकाका डेल वेबर र संयुक्त राष्ट्रसङ्घका महासचिवका दूत सेल्विन हार्टसँग भेटवार्ता गरेका थिए।

त्यसैगरी, हरित जलवायु कोषको उच्च नेतृत्वसँग भावी कार्यक्रमका विषयमा छलफल गरेका अर्थमन्त्रीले जेनेभास्थित विश्व मौसम विज्ञान सङ्गठनको जलवायु मापन कोषसम्बन्धी कार्यक्रममा पनि विशेष सम्बोधन गरेका थिए। उक्त कार्यक्रमबाट नेपालले समेत लाभ लिँदै आएको छ।

जलवायु र अर्थशास्त्रका क्षेत्रमा ख्याति कमाएका प्राध्यापक योहान रक्स्त्रम र प्राध्यापक निकोलस स्टर्नसँग पनि अर्थमन्त्री वाग्लेले भेटघाट गरेका थिए।

यसै क्रममा उनले ‘न्युयोर्क टाइम्स’ लाई अन्तर्वार्ता दिएका थिए। सन् २०२६ का लागि ‘टाइम’ पत्रिकाले छनोट गरेका जलवायु मुद्दासँग सम्बन्धित विश्वका १०० प्रभावशाली व्यक्तित्वहरूको सम्मानमा आयोजित कार्यक्रममा पनि उनी सहभागी भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।