उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादन तथा उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र लगानी विस्तारलाई प्राथमिकता दिएर अघि बढ्नुपर्ने बताएका छन् । नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री वाग्लेले नेपालको अर्थतन्त्र अहिले महत्वपूर्ण मोडमा रहेको भन्दै उत्पादन र उत्पादकत्व बढाउने दिशामा केन्द्रित हुनुपर्ने बताएका हुन् ।

उनले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा अनुत्पादक क्षेत्रबाट उत्पादनशील क्षेत्रमा केन्द्रित गर्नुपर्नेमा जोड दिए । बैंकले जनविश्वास कायम राख्न पारदर्शिता, जवाफदेहिता, व्यावसायिकता र प्रभावकारी जोखिम व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।

मन्त्री वाग्लेले बैंकिङ सेवालाई सरल, सुरक्षित, छिटो र प्रविधिमैत्री बनाउन आग्रह गर्दै साइबर सुरक्षा तथा तथ्यांक संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताए ।

नेपाल बैंक लिमिटेडको ऐतिहासिक गौरवलाई भविष्यको सफलतामा रूपान्तरण गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै उनले बैंकिङ क्षेत्रको सुधार, संस्थागत सुदृढीकरण र वित्तीय स्थायित्वका लागि आवश्यक नीतिगत सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा लामो समय सेवा गरेका कर्मचारीलाई दीर्घसेवा पदक तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कार प्रदान गरिएको थियो । सोही अवसरमा बैंकको डिजिटल कर्जा उत्पादन पनि शुभारम्भ गरिएको थियो ।