उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

महोत्तरी । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै यस वर्षको छठ पर्व आज सम्पन्न भएको छ । कात्तिक शुक्ल पञ्चमीका दिनदेखि निराहार व्रत बसेका बर्तालुले सप्तमी तिथिको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै पर्व सम्पन्न गरेका हुन् ।

महोत्तरीसहित तराई-मधेशका विभिन्न स्थानमा सूर्योदयसँगै बर्तालुले सूर्यदेवलाई अर्घ्य अर्पण गरेका थिए । यसअघि आइतबार साँझ षष्ठी तिथिका दिन अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिइएको थियो ।

पर्व सम्पन्न भएपछि बर्तालु छठी घाटबाट घर फर्किएका छन् । छठ पर्व कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिपूर्वक मनाइन्छ । चौथीका दिन पवित्र स्नान गरी चोखोनीतो खाएर व्रतको सङ्कल्प गर्ने विधिलाई ‘नहाय–खाय’ भनिन्छ । पञ्चमीका दिन एक छाक अलिनो भोजन गरेर ‘खरना’ विधि सम्पन्न गरिन्छ ।

षष्ठीको साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने विधिलाई मिथिलामा ‘सझियाघाट’ वा ‘सझुका अरख’ भनिन्छ । सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व सम्पन्न गर्ने विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।

पर्व सम्पन्न गरी घर फर्केपछि बर्तालुले दीनदुःखी तथा आशामुखीलाई अन्न र वस्त्र दान गर्ने तथा प्रसाद ग्रहण गर्ने चलन छ । छठमा ठकुवा, भुसुवालगायत मिष्ठान्न परिकार, केरा तथा अन्य फलफूल र माटाका भाँडामा जमाइएको दही सूर्यदेवलाई चढाइन्छ ।

मिथिलामा छठको प्रसाद बाँड्ने र खाने क्रम महिनौँसम्म चल्ने गर्छ । विशेषगरी छोरीचेली, फुपू, मित तथा अन्य इष्टमित्रकहाँ सोलीमा राखेर प्रसाद पठाउने परम्परा छ । छठ व्रतको प्रभावले सुख, सन्तोष प्राप्त हुने तथा रोगव्याधबाट मुक्ति मिल्ने जनविश्वास रहिआएको छ ।