कुशल र युवराजको विस्फोटक ब्याटिङमा पोखराको कीर्तिमान, एनपीएलमै सर्वाधिक २२४ रन

कुशल र युवराजको विस्फोटक ब्याटिङमा पोखराको कीर्तिमान, एनपीएलमै सर्वाधिक २२४ रन

काठमाडौं । कुशल भुर्तेल र युवराज सिंह सामराको विस्फोटक ब्याटिङमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा कीर्तिमानी योगफल तयार पारेको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौं गोर्खाजविरुद्ध पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २२४ रन बनाएको हो।

यो एनपीएलको इतिहासमा कुनै पनि टोलीले बनाएको अहिलेसम्मकै ठूलो योगफल हो। यसअघि दोस्रो संस्करणमा विराटनगर किङ्सले पोखराविरुद्ध २२० रन बनाएको थियो। पोखरा एकै सिजन दुईपटक २०० भन्दा बढी रन बनाउने पहिलो टोलीसमेत बनेको छ। यसअघि उसले कर्णाली याक्सविरुद्ध २१७ रन बनाएको थियो।

पोखराका लागि कुशल भुर्तेल शतक बनाउनबाट केवल एक रनले चुके। उनले ५१ बलमा आठ चौका र आठ छक्काको मद्दतमा सर्वाधिक ९९ रन बनाए। अर्का ओपनर युवराज सिंह सामराले ५५ बलमा आठ चौका र पाँच छक्कासहित ८९ रनको योगदान दिए।

ओपनर अर्जुन कुमाल पाँच रन बनाएर तेस्रो ओभरको दोस्रो बलमा आउट भएपछि क्रिजमा आएका कुशलले युवराजसँग मिलेर आक्रामक ब्याटिङ गरे। दुवैले काठमाडौंका बलरमाथि दबाब बनाउँदै पोखरालाई विशाल योगफलसम्म पुर्‍याए। कुशल र युवराजले दोस्रो विकेटका लागि १८६ रनको कीर्तिमानी साझेदारी गरे। यो एनपीएल इतिहासकै अहिलेसम्मको ठूलो साझेदारी हो।

यसअघि सन् २०२४ मा सम्पन्न एनपीएलको पहिलो संस्करणमा पोखराकै आन्द्रे गौस र दिनेश खरेलले लुम्बिनी लायन्सविरुद्ध पहिलो विकेटका लागि अविजित १७६ रनको साझेदारी गरेका थिए। काठमाडौंका कप्तान करण केसीले १९औँ ओभरमा कुशल र युवराज दुवैलाई आउट गर्दै पोखराको आक्रमणमा केही लगाम लगाएका थिए। करणले दुई विकेट लिए भने जहानदाद खानले एक विकेट हात पारे।

कुशल र युवराजको कीर्तिमानी साझेदारीसँगै पोखराले एनपीएलमा आफ्नो नाममा नयाँ कीर्तिमान लेखाएको छ।