

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाण्डु गोर्खाजलाई ५५ रनले पराजित गरेको छ । पोखराले दिएको २२५ रनको लक्ष्य पछ्याएको काठमाण्डु १९.५ ओभरमा सबै विकेट गुमाएर १६९ रनमा समेटियो । काठमाण्डुका लागि स्मित पटेलले सर्वाधिक ३४ रन बनाए । राशिद खानले ३१, सोनु देवकोटाले २९, विल बोसिस्टोले २६ र जहानदाद खानले २४ रन जोडे ।
पोखराका दिनेश खरेलले ४ विकेट लिए । विपिन खत्रीले ३ तथा सनी बिक, युवराज सामरा र रमेश मेन्डिसले समान १ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनाएको थियो । पोखराका कुशल भुर्तेलले ५१ बलमा ८ चौका र ८ छक्कासहित ९९ रन बनाए । युवराज सामराले ५५ बलमा ८ चौका र ५ छक्काको मद्दतमा ८९ रन जोडे । कप्तान चमिका करुणारत्ने १९ रनमा अविजित रहे ।
काठमाण्डुका करण केसीले २ तथा जहानदाद खानले १ विकेट लिए ।
जारी संस्करणमा पोखराको यो दोस्रो जित हो । सात खेल खेलेको पोखराले पाँच खेलमा हार व्यहोरेको छ । पोखरासँग पराजित भए पनि काठमाण्डुले भने प्लेअफमा स्थान सुरक्षित गरेको छ । यसअघि आइतबार नै भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गरेको थियो ।