कर्णालीको सुखद अन्त्य, चितवनलाई २४ रनले हरायो

कर्णालीको सुखद अन्त्य, चितवनलाई २४ रनले हरायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले सुखद अन्त्य गरेको छ। लिग चरणको आफ्नो अन्तिम खेलमा आइतबार चितवन राइनोजलाई २४ रनले पराजित गर्दै कर्णालीले प्रतियोगितामा जितसहित बिदाइ लिएको हो।

कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै अलआउट भयो। यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको चितवनले अन्तिम खेलमा भने हार बेहोरेको छ। चितवनका लागि उसामा मिरले अविजित २८ रन बनाए। कामिल मिश्राले २५, कुशल मल्लले १८ र देव खनालले १४ रनको योगदान दिए।

कर्णालीको जितमा बलर हुसैन तलातले महत्त्वपूर्ण भूमिका खेले। उनले तीन विकेट लिए। पवन सर्राफ र मार्क वाटले समान दुई तथा सोमपाल कामीले एक विकेट हात पारे। त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५३ रन बनाएको थियो।

कर्णालीका लागि हुसैन तलातले सर्वाधिक ५१ रन बनाउँदै अविजित रहे। अरिफुल इस्लामले ३५, गुलशन झाले १८ र पवन सर्राफले १५ रन जोडे। चितवनका कमल सिंह ऐरी, सलाहुद्दीन खान र उसामा मिरले समान दुई विकेट लिए। सिकन्दर रजा र रिजन ढकालले एक-एक विकेट हात पारे।

जितसँगै कर्णालीले एनपीएलको तेस्रो संस्करणको लिग चरण सुखद रूपमा टुङ्ग्याएको छ। तर, चितवन भने यसअघि नै प्लेअफमा पुगिसकेकाले यो हारले उसको अन्तिम चारको यात्रा प्रभावित हुने छैन।