छठको सार्वजनिक बिदामा पनि कर कार्यालय खुला रहने

छठको सार्वजनिक बिदामा पनि कर कार्यालय खुला रहने

काठमाडौं । छठ पर्वको सार्वजनिक बिदाका दिन पनि कर कार्यालयहरू खुला रहने भएका छन्। कात्तिक मसान्त करदाताका लागि महत्त्वपूर्ण दिन भएकाले आन्तरिक राजस्व विभागले देशभरका सम्बन्धित कार्यालय खुला राख्ने निर्णय गरेको हो।

कात्तिक मसान्त गत आर्थिक वर्षको आय विवरण दाखिला गर्ने तथा आर्थिक ऐन, २०८३ ले प्रदान गरेका कर छुट र सुविधा उपयोग गर्ने अन्तिम दिन हो। यसैगरी, बक्यौता फरफारक गर्ने र अन्तःशुल्क लाग्ने वस्तु निष्कासन गर्ने करदाताका लागि उपलब्ध सहजीकरण सुविधाको समयसीमा पनि यही दिनसम्म रहेको छ।

सरकारले छठ पर्वको अवसरमा कात्तिक मसान्तका दिन सार्वजनिक बिदा दिएको भए पनि करदातालाई सेवा प्रवाहमा असुविधा नहोस् भन्ने उद्देश्यले विभागले कार्यालय खुला राख्ने निर्णय गरेको हो। आन्तरिक राजस्व विभागका निर्देशक बुद्धिप्रसाद आचार्यले ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र सबै आन्तरिक राजस्व कार्यालयलाई पत्राचार गर्दै कार्यालय खुला राख्न निर्देशन दिएका छन्। विभागले राजस्व सङ्कलन गर्ने बैंकसँग समन्वय गरी कार्यालय सञ्चालन गर्न र आवश्यक कार्यसम्पादन गर्न निर्देशन दिएको छ।