अन्तिम ओभरमा लुम्बिनीको रोमाञ्चक जित, पहिलो क्वालिफायरमा स्थान पक्का

अन्तिम ओभरमा लुम्बिनीको रोमाञ्चक जित, पहिलो क्वालिफायरमा स्थान पक्का

काठमाडौं । विराटनगर किङ्समाथि रोमाञ्चक जित निकाल्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा प्रवेश गरेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगरलाई चार विकेटले पराजित गर्दै लुम्बिनीले अंक तालिकाको शीर्ष स्थान सुरक्षित गरेको हो।

विराटनगरले दिएको १६७ रनको लक्ष्य लुम्बिनीले अन्तिम ओभरको एक बल बाँकी छँदा ६ विकेट गुमाएर पूरा गर्‍यो। अन्तिम ओभरमा जितका लागि १६ रन आवश्यक हुँदा रुबेन ट्रम्पलम्यानले छक्का प्रहार गर्दै लुम्बिनीलाई रोमाञ्चक जित दिलाए।

लुम्बिनीको जितसँगै काठमाडौं गोर्खाज र चितवन राइनोजले पनि एक खेल अगावै प्लेअफमा स्थान पक्का गरेका छन्। साविक विजेता लुम्बिनी लगातार दोस्रोपटक प्लेअफ पुगेको हो।

लक्ष्य पछ्याउने क्रममा लुम्बिनीका ओपनर डार्सी सर्ट र आशिफ शेखले पहिलो विकेटका लागि ११.५ ओभरमा ९६ रनको साझेदारी गर्दै टोलीलाई उत्कृष्ट सुरुवात दिलाए। डार्सीले २३ बलमा तीन चौका र तीन छक्कासहित ४५ रन बनाए। उनी चरिथ असलंकाको बलमा एलबीडब्लु धरापमा परे।

अर्का ओपनर आशिफले पनि ४१ बलमा तीन चौका र एक छक्कासहित ४५ रन बनाए। उनी रनआउट भए।

१३औँ ओभरमा अपराजित पौडेलले लगातार दुई बलमा निरोसन डिकवेला र दिलीप नाथलाई आउट गरेपछि लुम्बिनी दबाबमा आएको थियो। त्यसपछि क्रिजमा आएका अली शेख र कप्तान रोहित पौडेलले पाँचौँ विकेटका लागि २२ रनको साझेदारी गरे। रोहित नौ रन बनाएर रनआउट भए।

छैटौँ विकेटका लागि अली र सन्दीप जोराले ४२ रनको साझेदारी गर्दै लुम्बिनीको जितको आधार तयार पारे। अलीले १९ बलमा एक चौका र दुई छक्कासहित २७ रन बनाए। उनी क्याच आउट भए।

सन्दीप जोरा २५ रनमा अविजित रहे भने रुबेन ट्रम्पलम्यानले छ रनको योगदान दिए।

अन्तिम ओभरमा लुम्बिनीलाई जितका लागि १६ रन चाहिएको थियो। विराटनगरका रुपेश सिंह बलिङमा आए। उनले पहिलो बल नो बल फालेपछि अली शेखले छक्का प्रहार गरे। तर, चौथो बलमा अली क्याच आउट भए। त्यसपछि क्रिजमा आएका रुबेनले छक्का प्रहार गर्दै लुम्बिनीको जित सुनिश्चित गरे।

विराटनगरका अपराजित पौडेलले एक ओभरमा पाँच रन खर्चेर दुई विकेट लिए। चरिथ असलंका र रुपेश सिंहले समान एक विकेट हात पारे।

त्यसअघि टस जितेर फिल्डिङ रोजेको लुम्बिनीले ब्याटिङको निम्तो पाएपछि विराटनगरले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १६६ रन बनाएको थियो।

विराटनगरका लागि चरिथ असलंकाले सर्वाधिक ६४ रन बनाए। उनले ४३ बलमा एक चौका र छ छक्का प्रहार गरे। रुबेन ट्रम्पलम्यानको बलमा क्याच आउट हुनुअघि उनले अर्धशतक पूरा गरेका थिए।

असलंकाले ३९ बलमा चार चौका र पाँच छक्काको मद्दतमा अर्धशतक बनाएका थिए। उनले शुभम रञ्जानेसँग मिलेर तेस्रो विकेटका लागि ४१ रनको साझेदारी गरे।

असलंकाले खेलमा दुईपटक जीवनदानसमेत पाएका थिए। उनी ३७ रनमा हुँदा रुबेन ट्रम्पलम्यानले उनको क्याच छाडेका थिए। त्यस्तै, ४७ रनमा पुगेका बेला आशिफ शेखले पनि क्याच लिन सकेनन्।

इमरान शेख २४ रनमा रिटायर्ड हर्ट भए। उनले २९ बलमा एक छक्का प्रहार गरेका थिए। ११औँ ओभरको दोस्रो बलमा खुट्टामा चोट लागेपछि उनी मैदान छाड्न बाध्य भएका थिए। त्यसपछि शुभम रञ्जाने क्रिजमा आएका थिए।

लोकेश बमले १५ रन बनाए। उनी किशोर महतोको बलमा विकेटकिपरबाट क्याच आउट भए। सेहान जयसूर्या एक रनमा अविशेष गौतमको बलमा एलबीडब्लु भए भने इसुरु उडाना छ रनमा आउट भए। शुभम रञ्जाने ३१ र बसिर अहमद चार रनमा अविजित रहे।

लुम्बिनीका लागि किशोर महतोले दुई विकेट लिए। रुबेन ट्रम्पलम्यान र अविशेष गौतमले समान एक विकेट हात पारे।

एनपीएलमा आइतबार लिग चरणका अन्तिम दुई खेल हुनेछन्। पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज आमनेसामने हुनेछन्। दोस्रो खेलमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछ।

काठमाडौंले पोखरालाई पराजित गरेमा पहिलो क्वालिफायरमा स्थान बनाउनेछ। प्लेअफ दौडबाट बाहिरिसकेका कर्णाली र पोखरा भने अन्तिम खेल जित्दै एनपीएलको तेस्रो संस्करण सुखद रूपमा टुङ्ग्याउन चाहन्छन्।