

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ। शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई चार विकेटले पराजित गरेसँगै चितवन राइनोजले पनि अन्तिम चारमा स्थान पक्का गरेको हो।
रोमाञ्चक खेलमा लुम्बिनीले विराटनगरले दिएको १६७ रनको लक्ष्य ६ विकेट गुमाएर पूरा गर्यो। रुबेन ट्रम्पलम्यानले अन्तिम ओभरको दोस्रो बलमा रुपेश सिंहलाई छक्का प्रहार गर्दै लुम्बिनीलाई जित दिलाएका थिए।
लुम्बिनीको जितसँगै सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन राइनोजले पनि प्लेअफमा स्थान बनाएका छन्। यसअघि नै सुदूरपश्चिमले प्लेअफमा स्थान सुरक्षित गरिसकेको थियो। शनिबारको नतिजापछि काठमाडौं र चितवनले आफ्नो खेल खेल्नुअघि नै अन्तिम चारमा पुग्ने अवसर पाएका हुन्।
हारसँगै विराटनगर भने लिग चरणबाटै बाहिरिएको छ। सात खेलबाट ६ अंक जोडेको विराटनगरका लागि अब प्लेअफको सम्भावना समाप्त भएको छ।
चितवनले आइतबार कर्णाली याक्सविरुद्ध लिग चरणको अन्तिम खेल खेल्नुअघि नै प्लेअफमा स्थान पक्का गरेको हो। चितवन ६ खेलबाट सात अंकसहित तालिकाको चौथो स्थानमा छ। यससँगै चितवनले एलिमिनेटर खेल्ने पनि निश्चित भएको छ। अन्तिम खेल जिते पनि चितवनले लुम्बिनी र सुदूरपश्चिमलाई उछिन्न सक्ने छैन।
विराटनगरलाई हराएपछि लुम्बिनी सात खेलबाट ११ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यससँगै लुम्बिनीले पहिलो क्वालिफायर खेल्ने पक्का भएको छ। पहिलो क्वालिफायरमा लुम्बिनीसँग प्रतिस्पर्धा गर्ने टोलीको टुङ्गो भने आइतबारका खेलपछि लाग्नेछ।
सुदूरपश्चिमले सात खेलबाट १० अंक जोड्दै दोस्रो स्थानमा रहेको छ। यस्तै, ६ खेल खेलेको काठमाडौं गोर्खाज आठ अंकसहित तेस्रो स्थानमा छ। काठमाडौंले आइतबार पोखरा एभेन्जर्ससँग लिग चरणको अन्तिम खेल खेल्नेछ। उक्त खेल जितेमा काठमाडौंले सुदूरपश्चिमलाई पछि पार्दै दोस्रो स्थानमा उक्लने र पहिलो क्वालिफायर खेल्नेछ।
दोस्रो संस्करणको प्लेअफ खेलेका चार टोलीमध्ये लुम्बिनी, सुदूरपश्चिम र काठमाडौंले यसपटक पनि अन्तिम चारमा स्थान बनाएका छन्। चितवन भने दोस्रोपटक प्लेअफ पुगेको हो। यसअघि उसले पहिलो संस्करणमा पनि प्लेअफ खेलेको थियो। सुदूरपश्चिम भने एनपीएलका तीनवटै संस्करणमा प्लेअफ पुग्ने एक्लो टोली बनेको छ।