

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज एक मात्र खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे ४ बजे लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुन लागेको हो ।
अंकतालिकाको दोस्रो स्थानमा रहेको लुम्बिनी आजको खेल जित्दै शीर्ष स्थानमा उक्लने लक्ष्यसहित मैदानमा उत्रनेछ । प्लेअफमा स्थान सुरक्षित गरिसकेको लुम्बिनीले ६ खेलबाट ४ जित, एक हार र एक खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको छ ।
लुम्बिनीले कर्णाली याक्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो । काठमान्डु गोर्खाजसँग पराजित भएको लुम्बिनीको चितवन राइनोजसँगको खेल भने वर्षाका कारण रद्द भएको थियो ।
यता अंकतालिकाको पाँचौँ स्थानमा रहेको विराटनगर किंग्सका लागि भने आजको खेल प्लेअफ यात्राका दृष्टिले निकै महत्त्वपूर्ण छ । तीन जित र तीन हारसहित ६ अंक जोडेको विराटनगर जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाउने योजनामा हुनेछ ।
विराटनगरले पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको छ । तर काठमान्डु गोर्खाज, चितवन राइनोज र कर्णाली याक्ससँग भने हार बेहोरेको छ ।
आजको खेलमा जित निकाल्दै लुम्बिनी शीर्ष स्थानको दौडमा अघि बढ्न चाहन्छ भने विराटनगर प्लेअफमा पुग्ने सम्भावना कायम राख्ने लक्ष्यमा हुनेछ ।