कोप–३१ मा सहभागी हुने सांसद कार्कीको माग : सरकारी खर्चमा गएकाहरूले सार्वजनिक गर्नुपर्ने

कोप–३१ मा सहभागी हुने सांसद कार्कीको माग : सरकारी खर्चमा गएकाहरूले सार्वजनिक गर्नुपर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन जानेहरूले सरकारी खर्चमा गएको हो वा होइन भन्ने विषय सार्वजनिक गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद कार्कीले कोपमा सहभागी हुनेमध्ये धेरैजना व्यक्तिगत खर्चमा वा विभिन्न संस्थाको प्रायोजनमा जाने गरेको उल्लेख गरेका छन्। ‘कोपमा जानेहरू दर्जनौँ हुन्छन्। साह्रै धेरै व्यक्तिगत खर्चमा, कुनै संस्थाको प्रायोजनमा कोपमा पुग्छन्,’ उनले लेखेका छन्।

वातावरणका विद्यार्थीहरूका लागि कोप सम्मेलन अवलोकन र सिकाइको महत्त्वपूर्ण अवसर हुने उल्लेख गर्दै उनले व्यक्तिगत इच्छाका लागि सरकारी स्रोत खर्च गर्न नहुने धारणा राखेका छन्। ‘देख्न पाइने र सिक्न पाइने कुरा असाध्यै धेरै हुन्छ कोपमा। तर त्यसो भन्दैमा व्यक्तिगत इच्छालाई सरकारी खर्चमा दपेट्न कसैले पनि पाइँदैन,’ उनले भनेका छन्।

निर्णय वा छलफल प्रक्रियामा प्रत्यक्ष सहभागी नहुने व्यक्तिले सम्मेलनमा नगए पनि त्यसबारे बुझ्न र जानकारी लिन सक्ने उनको भनाइ छ। कार्कीले यसपटक पनि कोप सम्मेलनमा सहभागी हुन टर्किएको अन्ताल्या पुग्ने नेपालीहरूको संख्या उल्लेख्य रहेको भन्दै सरकारी खर्चमा जानेहरूले त्यसबारे सार्वजनिक घोषणा गर्नुपर्ने बताएका छन्।

‘सधैँझैँ यसपालि पनि कोपमा जानेहरूको लर्को छ। वातावरणको विद्यार्थी र सांसद पनि भएकाले हो कि धेरै साथीहरू कोपका लागि टर्किए पुगेको, पुग्दै गरेको देख्छु,’ उनले लेखेका छन्, ‘जानेहरूले आफू सरकारी खर्चमा गएका हुन् कि होइनन् भन्ने सार्वजनिक रूपमा घोषणा गरून्। गर्नैपर्छ।’

टर्कीको अन्ताल्यामा कात्तिक २३ देखि सुरु भएको कोप–३१ सम्मेलन मंसिर ४ गतेसम्म सञ्चालन हुनेछ। सम्मेलनमा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन, जलवायु वित्त, हानि तथा क्षति र स्वच्छ ऊर्जा संक्रमणलगायतका विश्वव्यापी मुद्दामा छलफल भइरहेको छ।