काठमाडौंलाई ७ रनले हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौंलाई ७ रनले हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ ।

शुक्रबार सम्पन्न खेलमा काठमान्डु गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गरेको हो । यससँगै सुदूरपश्चिम प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । यसअघि साविक विजेता लुम्बिनी लायन्सले प्लेअफमा स्थान बनाइसकेको छ ।

सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमान्डुले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रनमात्र बनाउन सक्यो । काठमान्डुका लागि राशिद खानले अविजित ३५ रन बनाए । दुशान हेमन्थाले २१, साम हिजलेटले ११ र सन्तोष यादवले १० रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

काठमान्डुलाई लक्ष्यसम्म पुग्न नदिन अनिल खरेलले दुई विकेट लिए । फाबियन एलन, स्कट कुगलेइन र हेमन्त धामीले एक–एक विकेट हात पारे । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो ।

सुदूरपश्चिमको सुरुवात निकै खराब रह्यो । ओपनर स्कट कुगलेइन ६ रनमा र विनोद भण्डारी एक रनमा आउट भए । त्यसपछि आएका ब्रेन्डन म्याकमुलेन र ईशान पाण्डे खाता नै नखोली पभेलियन फर्किए । दुवैलाई काठमान्डुका बलर सन्तोष यादवले आउट गरेका थिए ।

त्यसपछि कप्तान दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले इनिङ्स सम्हाल्ने प्रयास गरे । शेख २५ बलमा १६ रन बनाएर रनआउट भएपछि सुदूरपश्चिम पुनः दबाबमा परेको थियो ।

कप्तान ऐरीले ६० रनको अर्धशतकीय पारी खेले । थरिन्दु रत्नायकेले अविजित २६ रन बनाएपछि सुदूरपश्चिमले प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो ।

बलिङतर्फ काठमान्डुका जहानदाद खानले तीन तथा सन्तोष यादवले दुई विकेट लिए ।

यस जितसँगै प्लेअफमा पुगेको सुदूरपश्चिमले अब अन्य टोलीका नतिजा कुर्नुपर्नेछ ।