एनपीएलमा आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुर खेल्ने

एनपीएलमा आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुर खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।

दिउँसो साढे १२ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन्।

पाँच खेल खेलेको काठमाडौं चार जित र एक हारसहित ८ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा छ। यता, छ खेल खेलेको सुदूरपश्चिम चार जित र दुई हारसहित ८ अंकका साथ तेस्रो स्थानमा रहेको छ।

आजै हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्नेछन्। यी दुई टोलीबीचको खेल दिउँसो साढे ४ बजे सुरु हुनेछ।

चितवन पाँच खेलबाट दुई जित, दुई हार र एक खेल वर्षाका कारण रद्द भएपछि पाँच अंकसहित तालिकाको पाँचौँ स्थानमा छ। वर्षाका कारण खेल रद्द हुँदा चितवन र प्रतिस्पर्धी टोलीले एक–एक अंक बाँडेका थिए।

यता, जनकपुर छ खेलबाट दुई जित र चार हारसहित चार अंक जोडेर छैटौँ स्थानमा छ।

आजका दुवै खेल प्लेअफ दौडमा महत्त्वपूर्ण हुने भएकाले टोलीहरू जितको लक्ष्यसहित मैदानमा उत्रनेछन्।